काठमाण्डौ । खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो गिरावट आई बैंक नै धराशायी भएपछि संचालक समितिको दवाबमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) निरजकुमार श्रेष्ठले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् । 

सीइओको रुपमा काम गरेको १६ महिनामै श्रेष्ठले बैंक छाडेका हुन् । उनले २०७३ असोज २८ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । 

उनी सीइओको रुपमा काम गर्न थालेपछि बैंकको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको थियो । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा त यो बैंकको प्रमुख बित्तीय सूचकहरुमै भारी गिरावट आएको थियो । 

समकालीन बैंकहरु प्रगति पथमा लम्किरहँदा माछापुच्छ्रे भने धराप बन्दै गएपछि संचालक समिति उनको कामप्रति असन्तुुष्ट थियो । उनलाई संचालक समितिले बैंकलाई प्रगति पथमा अगाडि बढाउन नसकेको बिषयमा स्पष्टीकरण नै सोधेको बैंकस्थित उच्च स्रोतले जानकारी दियो । संचालक समितिबाट स्पष्टीकरण नै सोधिएपछि श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। 

तत्कालीन सीइओ तुलसी गौतमले राजीनामा दिएपछि श्रेष्ठलाई सीइओको जिम्मेवारी दिइएको थियो । तर, उनले गौतमजति पनि प्रगति गरेर आफ्नो क्षमता देखाउन नसकेका एक संचालकले आरोप लगाए । ‘उहाँले अपेक्षा गरेजस्तो काम गर्न सक्नुुभएन, त्यही भएर हामीले स्पष्टीकरण नै सोध्नुुपर्ने अवस्था सिर्जना भयो ।’ ती संचालकले भने–‘बैंकको अवस्था धराप बनाई उहाँले छाड्नुुभयो, अवस्थामा सुधार ल्याउन अब सिर्जनशील व्यक्ति बैंकको नेतृत्वमा आउनुपर्छ ।’ 

श्रेष्ठले बैंक छाडेपछि तत्कालका लागि बैंकका नायव महाप्रबन्धक अर्जुन थापालाई निमित्त सीइओको जिम्मेवारी दिइएको छ । 

यस्तो थियो दोश्रो त्रैमासको प्रगति विवरण
यो बैंकको खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो गिरावट आएको छ । यस्तै, सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेपछि थप कर्जा विस्तार गर्न नसक्ने भएर बैंक थलिएको देखिएको छ ।

अघिल्लो वर्ष ५७ करोड ५३ लाख रुपैयाँ रहेको खूद नाफा घटेर ४७ करोड १८ लाखमा सीमित बन्न पुगेको छ । यस्तै, ८४ करोड ९१ लखको  उचाईमा रहेको संचालन नाफामा पनि पहिरो गई ६८ करोडमा झरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा २ अर्ब  ४२ करोड रहेको रिजर्ब कोष खिइएर १ अर्ब ४४ करोडमा सीमित बन्न  पुगेको छ । यसरी बैंकको रिजर्बकोषमा ४४ प्रतिशतको पहिरो गएको देखिएको छ ।

व्यवसाय वृद्धि  गर्न बैंकको व्यवस्थापन असफल भएका कारण अघिल्लो वर्ष  १ अर्ब १२ करोड रहेको खूद ब्याज आम्दानी घटेर  १ अर्ब ६ करोडमा सीमित भएको छ ।  

बैंकले ५ करोड ५२ लाख  रुपैयाँ राइटब्याक गरेको छ भने जोखिम व्यवस्थापनका लागि १४ करोड १४ लाख प्रोभिजनमा राखेको छ । 

समीक्षा अवधिमा बैंकले ६५ अर्ब ७९ करोड निक्षेप संकलन गरी ६० अर्ब २६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ५८ अर्ब २४ करोड निक्षेप संकलन गरी ५१ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंक सीसीडी रेसियो ७९.५७ प्रतिशत पुगेको थियो । 

बैंकले खराब कर्जालाई भने केही घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.३५ प्रतिशत रहेको यस्तो कर्जा केही घटी ०.३३  प्रतिशतमा सीमित बन्न पुगेको हो । 

खूद नाफा नै घटेपछि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४.६६ रुपैयाँबाट घटेर ११.९४  रुपैयाँमा झरेको छ । यो अवधिमा  प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.७५ गुणा कायम भएको छ । बैंकको इक्वीटीमा प्रतिफल समेत १६.२३ प्रतिशतबाट घटेर ९.९३ प्रतिशतमा सीमित भएको छ ।