काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुुई दिनमै मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । यो क्रममा प्रधानमन्त्रीपछि सर्वाधिक बलियो मानिने अर्थमन्त्रालयको बागडोर कसले सम्हाल्छ भन्ने चर्चा व्यापक बनेको छ । अर्थमन्त्रीको दौडमा एमालेका प्रभावशाली नेताहरुको सहभागिता रहेकोले अर्थमन्त्री कसले पाउँछ भन्ने कुरा निश्चित भइसकेको छैन । तर, अर्थमन्त्रीका लागि संभावितमध्येका एक पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने यो दौडबाट बाहिरिएका खबर प्राप्त भएको छ । 

एमालेस्थित उच्च स्रोतका अनुसार ओलीले आफू निकटका नेतालाई अर्थमन्त्री बनाउने देखेपछि पाण्डेले दौड छाडेका हुन् । पूर्व अर्थमन्त्री पाण्डे यो दौडबाट बाहिरिएपछि अब संभावित अर्थमन्त्री ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवालीमध्येबाट एकजना हुने स्रोतको भनाई छ । 

पार्टी महासचिव समेत रहेका पोखरेलले सुरुवातदेखि नै उपप्रधानसहित अर्थमन्त्रीमा आफ्नो दाबी पेश गर्दै आएका छन् । उनको सपथ पहिलो चरणमै हुने तयारी पनि उनको अर्थमन्त्रीमा भएको दाबीका कारण पछाडि सरेको थियो । केपी ओलीले पोखरेललाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गर्दै आएका छन् । तर, पोखरेलले अर्थमन्त्रीमा आफ्नो दाबीलाई छाडेका छैनन् । 

एमाले उच्च स्रोतका अनुसार पछिल्लो समय अर्थमन्त्रीको दौडमा केही कमजोर जस्तो देखिएका विष्णुु पौडेल पछिल्ला दिनहरुमा एकाएक हाबी भएका छन् । केपी ओली यसअघि प्रधानमन्त्री हुँदा त्यसबेलाको अर्थमन्त्रालयको बागडोर कुशलतापूर्वक सम्हालेका पौडेललाई नै अर्थमन्त्रीको रुपमा दोहोर्याउँदा राम्रो हुने विश्लेषण ओलीका किचन क्याबिनेटका नेताहरुले सुनाउन थालेका छन् । यसकारण समेत यसअघि पार्टी महाधिवेशनका लागि सक्रिय हुने र मन्त्रीको दौड छाड्ने मनस्थितिमा पुुगेका पौडेल एकाएक सक्रिय देखिएका हुन् । 

पौडेलको संभावना बढेसँगै यसअघि लगभग अर्थमन्त्री हुने पक्का जस्तै देखिएका प्रदीप ज्ञवालीको संभावना केही कम भएको स्रोत दाबी गर्छ । यद्यपि ओलीले उनैलाई अर्थमन्त्री बनाउन चाहेका छन् । तर, पार्टीभित्रको ओली गुटबाटै पनि अन्य दुुई शक्तिशाली नेता पोखरेल र पौडेलले दाबी नछाडेपछि उनी अप्ठ्यारोमा परेका छन् । 

मंगलबारदेखि अर्थमन्त्रीको दौडमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडालाई समेत चर्चामा ल्याइएको छ । तर, एमाले स्रोतले उनले अहिले नै शक्तिशाली नेतालाई पन्छाएर अर्थमन्त्री बन्नसक्ने अवस्था नरहेको प्रष्ट पारेको छ। 

यसकारण ओलीले उनलाई अर्थ राज्यमन्त्रीको रुपमा नियुक्त गर्ने संभावना प्रवल छ । उनलाई अर्थराज्यमन्त्री बनाएर अर्थमन्त्रीमा जुनसुकै नेतालाई ल्याए पनि राम्रो आर्थिक नीतिमा देशलाई हिँडाउन सक्ने ओलीको बुुझाई छ । महत्वपूर्ण जिम्मेवारी दिनकै लागि डा. खतिवडालाई ओलीले राष्ट्रियसभा सदस्य बनाएका हुन् । 

त्यसो त कतिपयले डा. खतिवडालाई ओलीले सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाउने चर्चा समेत गरिरहेका छन् । 

यसरी समग्रमा शक्तिशाली मन्त्रालय मानिएको अर्थमा नेताहरुको दौडधूप निकै रोचक देखिएको छ । देशलाई समृद्धिको बाटोमा हिँडाउने र आर्थिक विकासको युुगको सुरुवात गर्ने शौभाग्य कसले पाउँछ, त्यो हेर्न अब केही घण्टा मात्र कुुनुपर्नेछ । 

गृह माओवादीलाई, पुन आउनसक्ने
यसैबीच, एमालेसँग पार्टी एकता गरेको तत्कालीन माओवादी केन्द्रबाट सरकारमा रामबहादुर थापा(बादल)ले नेतृत्व गर्ने बुझिएको छ । पहिलो चरणमा थापा र बर्षमान पुनलाई मन्त्रीपरिषदमा पठाउने प्रचण्डको तयारी छ । एमालेभित्र गृहमन्त्रालय सम्हाल्ने बिषयमा नेताहरु खासै इच्छुक देखिएका छैनन्, यहीकारण यो मन्त्रालय माओवादीमा भागमा पर्ने निश्चित झै छ । माओवादीले गृहमन्त्री पाएको खण्डमा सो जिम्मेवारी बर्षमान पुनलाई दिने प्रचण्डको तयारी छ । 

रामबहादुर थापा बादल भने कुनै विकासे मन्त्रालयसहित सरकारमा उपप्रधानमन्त्रीको रुपमा जानेछन् ।