काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल राजीनामा दिने निश्कर्षमा पुगेका छन्। 

नेपाल निकट स्रोतका अनुसार नयाँ अर्थमन्त्रीको रुपमा पूर्वगभर्नर डा. युवराज खतिवडाले सपथ लिएपछि काम गर्न अप्ठ्यारो पर्ने भन्दै उनले राजीनामाको मूड बनाएका हुन् । 

‘गभर्नर ज्यूले केही दिनभित्रै राजीनामा गर्ने मूड बनाउनुुभएको छ ।’ स्रोतले भन्यो–‘बाम गठबन्धनको सरकार आएपछि कांग्रेसको कोटामा नियुक्त उहाँलाई काम गर्न सहज हुन्न ।’ 

कांग्रेसले गभर्नर बनाएपछि डा. नेपालले लिएका नीतिहरुको बिषयमा पूर्व गभर्नर डा. खतिवडाले निरन्तर आलोचना गर्दै आएका छन् । डा. नेपालले बैंक तथा बित्तीय संस्थाहरुको पूँजीवृद्धिका लागि अपनाएको बाटोको डा. खतिवडा कटु आलोचक समेत हुन् । राष्ट्रबैंक नेतृत्वको पछिल्लो कम गराई, लिएको अधिकांश नीति र आफ्नै नीतिमा अडिग हुन नसक्ने नेतृत्वको खतिवडाले लेखहरुमार्फत आलोचना गर्दै आएका छन् । आफ्ना कटुु आलोचक पूर्व गभर्नर नै अर्थमन्त्री भएपछि उनको अण्डरमा रहेर काम गर्न सहज नहुने कुरा बुुझेका नेपालले राजीनामाको तयारी गरेका बुझिएको छ । 

डा. नेपालको यही मूडका कारण उनी अर्थमन्त्रीले पदबहाली गर्दै गर्दा सिंहदरबार समेत गएनन् । राष्ट्रबैंकको तर्फबाट नवनियुक्त अर्थमन्त्रीलाई स्वागत गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पुुगेका थिए । 

यसअघि ज्ञानेन्द्र कार्की, विष्णु पौडेल अर्थमन्त्री हुँदा स्वागत तथा बधाई दिन डा. नेपाल आफैं पदबहालीकै दिन अर्थमन्त्रालय पुुगेका थिए । 

डा. नेपाललाई सुशील कोइराला नेतृत्वको सरकारले २०७१ चैत ५ गते गभर्नर नियुक्त गरेको थियो । पाँच वर्षका लागि गभर्नरमा नियुक्त नेपालको लगभग ३ वर्ष पूरा भइसकेको छ । उनले चाहँदा अझै २ वर्षसम्म गभर्नरको रुपमा काम गर्न पाउँछन् । तर, अर्थमन्त्रीसँग टक्कर लिएर राष्ट्रबैंकमा बसिरहनुु उनकै पनि प्रत्यूत्पादक हुनेछ । बमगठबन्धनको सरकारले आफ्ना चुनावी घोषणापत्रमा उल्लेख कुराहरुलाई कार्यान्वयन गर्न गभर्नरलाई समेत दवाब दिनेछ । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ता समेत रहेका डा. नेपालले कि त चूपचाप बाम गठबन्धनको लाइन अनुसार हिँड्नुुपर्छ, त्यसो गर्न नसके उनले राजीनामा दिनुुको विकल्प नरहेको विश्लेषकहरु बताउँछन् । 

नेपाल राष्ट्रबैंक सरकारको प्रमुख आर्थिक सल्लाहकार समेत रहेकोले बाम सरकारले पनि गभर्नरबाट डा. नेपालको जतिसक्दो चाँडो बहिर्गमन चाहेको छ । यस्तो अवस्थामा यदि डा. नेपालले राजीनामा गर्नै नचाहँदा समेत उनलाई काम गर्न दिने सहज वातावरण सरकारले बनाउने छैन । 

को बन्ला नयाँ गभर्नर ?
गभर्नरको राजीनामासँगै बाम सरकारले नयाँ गभर्नरको रुपमा कसलाई नियुक्त गर्छ भन्ने चासो सुरु भएको छ । केही व्यक्तिहरुले गभर्नरका लागि दौडधूप समेत ओली प्रधानमन्त्री भएदेखि नै सुरु गरिसकेका देखिएको छ । 

डा. खतिवडा अर्थमन्त्री नियुक्त भएकाले उनको पहिलो रोजाईमा राष्ट्रबैंककै पूर्व डेपुटी गभर्नर तथा सुशील कोइराला नेतृत्वको सरकारको पालामा गभर्नरका लागि छनौट भएका अन्तिम तीन नाममा पर्न सफल महाप्रसाद अधिकारी रहेका स्रोत बताउँछ । अधिकारी हाल लगानीबोर्डको अध्यक्ष छन् । डा. खतिवडाका प्यारा अधिकारीको नयाँ गभर्नर बन्ने संभावना प्रवल रहेको खतिवडा निकट स्रोत बताउँछ । 

यस्तै, बाम गठबन्धनको सरकार आएसँगै गभर्नर बन्ने दौडमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ समेत देखिएका छन् । उनले समेत गभर्नरका लागि लविङ सुरु गरिसकेका स्रोत बताउँछ । उनलाई एमालेकै जोडबलमा राबा बैंकको सीइओ बनाइएको थियो । 

माओवादी निकट अर्थविद दीपेन्द्रबहादुर क्षेत्रीले समेत पुनः गभर्नरको रुपमा राष्ट्रबैंक गई समृद्ध नेपालको सारथी बन्न चाहेका छन् । उनले माओवादीका नेताहरुलाई प्रयोग गरेर गभर्नर बन्ने प्रयास थाले भने त्यसलाई स्वभाविक मान्नुुपर्ने क्षेत्री निकट स्रोत बताउँछ । 

आफू झापाली रहेको र ओली निकट समेत भएको भन्दै नयाँ गभर्नरको रुपमा मुख मिठ्याउने अर्का व्यक्ति हुन् राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी । तर, अर्थमन्त्रीको रोजाईमा समेत आगामी गभर्नर आउने भएकोले खतिवडाले शिवाकोटी भन्दा अधिकारीलाई नै रोज्ने छन् । तर, शिवाकोटी समेत अब गभर्नर बन्ने पालो आएको भन्दै ओलीमार्फत दवाब बढाउने अभियानमा लागेका छन् ।