-प्रकाश बञ्जारा
यूएई । झट्ट सुन्दा विश्वास नलाग्न सक्छ कतै प्रहरी विनको प्रहरीचौकि पनि सम्भव होला त ? तर यो पनि सम्भव बनाईदिएको छ विश्वमा विकसित प्रविधि अर्थात आर्टिफिसियल ईन्टिलिजेन्सले । 

संयुक्त अरब ईमिरेट्सको दुवईमा केही समयअघि मात्र खोलिएको प्रहरीचौकीले स्मार्ट पुलिस स्टेसन्को रुपमा गिनिज बुक अफ वर्ड रेकर्डमा नाम दर्ता गराएको छ । केही समयअघि मात्र खोलिएको यस्तो पुलिस स्टेसन विश्वमै पहिलो हो, जहाँ न त बन्दुकधारी प्रहरी छन् न त कर्मचारी नै। 

सेवाग्राही जान्छन्, सेन्सरको प्रभावले सिसाको स्वचालित ढोका खुल्छ, भित्र लहरै केही स्मार्ट मेसिनहरु राखिएका छन् भने भित्तामा ठूलो टिभी स्क्रिन राखिएको छ । सूचना र सेवा लिने तरिकाहरु  स्क्रिनमा देखिन्छन् । ग्राहकको जिज्ञासालाई मेटाउन मेसिनमा फ्याक्ट एण्ड फिगर राखिएको छ । आफूलाई चाहिएको सूचना तुरुन्तै उपलब्ध हुन्छ ।

ग्राहकको सेवामा पर्खाई कक्ष समेत राखिएको छ, जसले सेवाग्राहीलाई पालैपालो सेवा लिन सजिलो बनाइदिएको छ । पर्खाई कक्षमा ग्राहकलाई व्यस्त बनाउन भिडियो गेम, शिक्षा तथा अपराधिक गतिविधि सम्बन्धी जानकारीमूलक पुस्तकहरु समेत राखिएको छ । स्वचालित मेसिनबाट ग्राहकले आवश्यकता अनुसार ट्राफिक जरीवाना तिर्न, जरीवाना सम्बन्धी विवरण लिन, चालचलन सम्बन्धी प्रमाणपत्रको निवेदन लिने लगायतका २७ वटा आधारभूत सहित जम्मा ६० प्रकारका सेवा प्रदान गर्ने गरेको दुवई पुलिसले जनाएको छ ।