काठमाण्डौ । भारतमा बसेर काम गर्ने र आफ्नो कमाई नेपालमा पठाउन विभिन्न असुरक्षित माध्यमलाई रोज्नेहरुको कष्टका दिन अब सकिने भएका छन् । नेपालका नम्बर १ रेमिटान्स कम्पनी आइएमईले इण्डो नेपाल रेमिटान्स विजिनेशमा एक नयाँ आयाम सुरु गरेको छ । 

आइएमईले भारतमा सबैभन्दा राम्रो नेटवर्क भएको रेमिटान्स कम्पनी अक्सिजन सर्भिस इण्डिया प्रा.लि.सँग इण्डो नेपाल रेमिटान्स सेवा संचालनको सम्झौता गरी काम नै सुरु गरेको हो । यो सेवाले अनौपचारिक रुपमा नेपाल भित्रिरहेको भारतीय पैसा(कमाई) बैकिंग च्यानलबाट भित्रिनेछ र देशमा घटिरहेको रेमिटान्सको आकारलाई थोरै भए पनि राहात पुुग्ने विश्वास लिइएको छ । 

भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र नेपालमा रेमिटेन्सको पर्यावाची मानिएको आईएमई लिमिटेडबीच सेवा शुुभारम्भको सम्झौतासँगै इण्डो–नेपाल रेमिटेन्स अझै बढी संस्थागत र औपचारिक बन्ने विश्वास गरिएको छ । 

काठमाडौं स्थित होटल सांग्रिलामा बुधबार आयोजित सेवा शुभारम्भ कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायत आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले डिजिटल्स फाईनान्सियल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र विस्तारै डिजिटल्स फाईनान्सियल सेवामा प्रवेश गर्दै गरेको आईएमईबीच भएको सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपालीहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्राउन सहज हुने विश्वास व्यक्त गरे । यो सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको बाध्यतालाई थोरै भए पनि कम गर्ने उनको दाबी छ । 

अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायिक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । सक्सेनाले यसअघि समेत भारतमा नेपालीले कमाएको पैसा देशमा विभिन्न अनौपचारिक माध्यमबाट भित्रिरहेको र त्यसलाई नै औपचारिक च्यानलमा तान्न खोजिएको जानकारी दिए । उनले पूरा भारतमा डिजिटल कारोबारका लागि सरकारले जोड दिइरहेको बेला अब पहिलाजस्तो भारतमा कमाएको पैसा बोकेर नेपाल आउनसक्ने अवस्था नरहने र यस्तो जटिल अवस्थामा आइएमईमार्फत पैसा पठाउन भारतमा बस्ने ५० लाख नेपालीलाई सहज हुने दाबी गरे । 

आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिङ हुने सो कार्यक्रममा बताइएको छ । 

अक्सिजन आरबीएलबाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो, जसले वार्षिक ६ करोडभन्दा बढी कारोबार गर्दै आएको छ । 

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आईएमईसँग नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टरसहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण हुँदै आएको छ । आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘ वेष्ट रेमिटेन्स कम्पनी अवार्ड –२०१६’ बाट सम्मानित भएको थियो ।