काठमाण्डौ । चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह ६ महिनाको तुलनामा  सामान्य सुधार भएको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले वृद्धि भई रु. ४०१ अर्ब ३५ करोड पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ३.० प्रतिशतले कमी आई रु. ४६० अर्ब ८५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.३ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो ।

मुद्रास्फीति
२०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३ प्रतिशत रहेकोमा २०७४ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्य वस्तुहरूको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको हो । 

यस्तै, समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेल लगायतका वस्तुहरूको मूल्यमा वृद्धि भएकोकारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको केन्द्रीय बैंकको भनाई छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५.६ प्रतिशत, हिमालमा ५.४ प्रतिशत, पहाडमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा ३ प्रतिशत, हिमालमा ३.२ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौं उपत्यकामा १.१ प्रतिशत रहेको थियो ।