अर्थमन्त्रीले केही कुरा भन्दैमा वा नभन्दैमा मार्केटले यति धेरै ओभररियाक्ट गर्नुपर्ने आवश्यकता थिएन । अहिलेको बेलामा यति सानो कुराबाटै बजारले ओभर रियाक्ट गर्नु अस्वभाविक हो । 

बजारको बिषयमा सरकारको आधिकारिक धारणा आउन बाँकी नै छ, हामी भने अलिक बढी अत्तालियौं कि ?

अर्थमन्त्रीज्यूबाटै पनि के भनिएको थियो, कसरी त्यसलाई प्रस्तुत गरियो, त्यो कुरा कसरी बाहिर आयो भन्ने कुरालाई पनि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

मेरो विचारमा सरकारको आधिकारिक धारणा श्वेतपत्रमार्फत आउने भन्ने छ, त्योबेलासम्म लगानीकर्ताले धैर्यतापूर्वक पर्खिनुुपर्छ । 

बजार भनेको तलमाथि गइरहन्छ, यो स्वभाविक हो । आपूर्ति र मागअनुसार बजार तलमाथि जाने भनेको अर्थशास्त्रको साधारण सिद्धान्त नै हो । हाम्रोमा बजार परफेक्ट कम्पिटिसनमा चल्दैन, चलेको छैन । 

२ वटा स्कूल अफ थट
हामीसँग २ वटा स्कूल अफ थट देखिन्छ । बजार आफैं रेगुलेट हुन्छ भन्ने एउटा स्कूल अफ थट छ । उनीहरु ठान्छन्ः बजार आफैंले आफ्नो बाटो र दिशा तय गर्छ । अर्को स्कूल अफ थट अनुसार सम्पूर्ण सूचना बजारलाई प्राप्त हुँदैन, केही हदसम्म सूचना पाएका मानिसले मात्र तलमाथि गर्ने हुँदा सबै बजार परफेक्ट कम्पिटिसनमा नचल्ने हुनाले बजारलाई नियमनकारी निकाय वा सरकारले अनुुगमन र हस्तक्षेप गर्नुपर्छ । 

यी दुवैखाले सोंचाई आ–आफ्नो हिसाबले ठीक छ, कोही कता ठीक होलान्, कोही कता ठीक होलान । तर, सामान्य रुपमा विकसित मुलुक, विकासोन्मुख र हामीजस्तो अल्पविकिसित मुलुकबीचमा तुलना गर्ने हो भने हाम्रो जस्तो देशमा शिक्षाको आधारमा, ज्ञान प्राप्तिको आधारमा सेयर बजारमा लगानी गरिएको हुँदैन । यहाँ भने वा सुनेको आधारमा लगानी गरिन्छ । यो अवस्थामा एउटा सानो हल्ला वा कसैको भनाईले बजारमा नचाहिने उतारचढाव हुनुु राम्रो होइन । अर्थशास्त्रको सामान्य सिद्धान्तले नै  बजारले आफैं करेक्सन हुन्छ भन्छ । तर, अर्थमन्त्रीले केही बोलेकै आधारमा बजार यति धेरै सक्रिय भएर रियाक्ट गरिहाल्ने अवस्था चाहि थिएन । 

प्यानिक सेल छैन !
जुनसुकै बजारमा एउटा समूह हुन्छ, जसले सक्रिय कारोबार गर्छ । सक्रिय कारोबारीहरुको दुुईवटा अप्सन हुन्छ, यस्ता सूचना प्रवाह भएपछि बजारलाई तल घटाउने, बजार घटेको मौकामा सस्तो मूल्यमा सेयर किन्ने र फेरि हल्ला फैलाएर बजार केही बढाई त्यही सेयर प्रोफिट बुक गर्दै बिक्री गर्ने प्रवृति हुन्छ । 

अहिले हामी २०१५ को लेभलमा पुगिसक्यौं । नेप्से परिसूचक २६ महिनाअघिको न्यून विन्दूमा आइसक्यो । त्यो अवस्थामा बैंकहरुको पूँजी बढेकै थिएन। वाणिज्य बैंकको २ अर्बको पूँजी थियो भने सेयरबजार निकै तल थियो । जुन बेलामा कारोबार ३०–४० करोडको मात्रै हुन्थ्यो । अहिले हामी त्यही लेभलको कारोबारमा आइपुुगेका छौ । बीचमा हामी २ अर्बसम्मको कारोबारमा पनि पुुग्यौं । २ अर्ब कारोबार हुँदा जसले लगानी गरे उनीहरु बजार बढ्छ भन्ने आशामा रहे । कुनै फण्डामेन्टलको हिसाबले हेरेनन्, उनीहरुले बजार बढ्छ भन्ने मात्र सोचिरहे । 

परिसूचक र कारोबारबीचको गिरावटलाई तुलना गर्दा सबैले प्यानिक भएर बेचेको भन्ने पनि देखिदैन । किनभने परिसूचक ३५ प्रतिशतले मात्र डाउन भएको देखिन्छ । कारोबार चाहि निकै नै डाउन भयो । २ अर्बबाट ३० करोडमा आयो । कारोबार ६ गुणा भन्दा बढीले कम भएको छ । कारोबारको हिसाबले प्यानिकिङ पनि भएको होइन, यदि त्यस्तो भएको भए १ सय २० करोडमा कारोबार भइरहनुुपथ्र्यो ।

सबैले प्यानिक भएर बेचेको पनि होइन । होल्डिङ पनि छ, तर लस चाहि निकैलाई भएको छ । 

होल्ड गर्ने डूबे
अहिले सबैभन्दा धेरै घाटा लामो समयसम्म होल्ड गर्नेलाई भएको छ । बजार बढेकै बेला थोरै प्रोफिट बुक गर्नेहरुले कमाए, लामो समय होल्ड गर्नेहरु अहिले डूूबेका देखियो । त्यसबेला नियामक निकाय तथा लगानीकर्ताका संघसंस्थाहरुले समेत लामो समयसम्म सेयर होल्ड गर्नुपर्छ, बजार बढ्छ भन्ने काम गरे । जसले यो सूचनालाई सही मानेर होल्ड गर्नतर्फ लागे, अहिले सबैभन्दा बढी उनीहरु नै डूूबे । एक हिसाबले हेर्दा यहाँ उल्टो अवस्था देखियो । अन्यत्र होल्ड गर्नेले बढी कमाएका छन्, तर यहाँ होल्ड गर्ने सिद्धान्त पछ्याउनेहरुको जहाज डूब्दैछ । 

अहिले होल्ड गर्नेहरुलाई सबैभन्दा ठूलो समस्या देखिन्छ । बिक्री गर्न सक्ने अवस्था पनि छैन, लगाएको पूँजी पनि उठ्दैन, बिक्री नगरुँ दिनहुँ बजार घटेर चौपट भइरहेको छ । यसरी हेर्दा धेरै लगानीकर्ताले अहिले घाटा खाँदा खाँदै पनि होल्ड गर्नुपर्ने बाध्यता व्यहोरिरहेका छन् ।

चलखेल भएको हो ?
हामीमा परफेक्ट कम्पिटिसन हुँदैन भने जुनसुकै बजारमा जानुहोस्, त्यहाँ स्वार्थ समूहहरुको सक्रिय कारोबार त हुन्छ हुन्छ । चाहे तपाईको अमेरिकाको बजार हेर्नुहोस्, राष्ट्रपति चुनाव लगत्तै पनि बजार घटेको थियो त्यहाँ । यो सबै ठाउँमा हुन्छ । यो सबै चलखेल सक्रिय कारोबारीले गर्ने हो । साना कारोबारीले पनि फण्डामेन्टलमा काम गर्दैनन् । अहिले कैयन कम्पनीहरुको सेयर बुक भ्यालूमा कारोबार भइरहेको छ । बुक भ्यालूमै बजार रहिरहनुुपर्छ भन्ने मान्यता पनि होइन ।

कतिपयले सप्लाई बढी भयो भन्छन्, त्यसको तुलनामा लगानीकर्ता पनि त बढेका छन् नि । 

समग्रमा अहिले यसरी बजार घटेर चौपट हुनुपर्ने अवस्था होइन, बजारले ओभररियाक्ट गर्यो । अर्थमन्त्रीले कुन सेन्समा के कुरा भन्नुुभएको थियो, त्यसलाई यति धेरै नेगेटिभ्ली बजारले लिएर यति ओभर रियाक्सन गर्न हुँदैन थियो । यो सबै सक्रिय कारोबारीको काम हो, उनीहरुले नियोजित रुपमा बजार घटाएका हुन् । 

यस्तो बेलामा के गर्ने ?
यस्तो बेलामा आम लगानीकर्ताले बजार भनेको जहिले पनि जोखिमपूर्ण नै हुन्छ भन्ने कुरा बुुझ्नुुपर्छ । विश्वको कुनै पनि बजार जोखिममुक्त हुँदैन । जोखिमयुक्त बजारमा आफ्नो पोर्टफोलियो मिलाउन सक्नुुपर्छ । सेयर बजारमा २५ देखि ३० प्रतिशत रिटर्नको योजनासहित लगानी गरेको हो भने त्यो पाउनासाथ उसले बजारबाट निस्किनुुपर्छ । बैंकमा राखे ११ प्रतिशत पाउँछु, सेयर बजारमा गएँ भने २५–३० प्रतिशत रिटर्न पाएपछि बेच्छुु भन्नेजस्तो स्पष्ट योजना बनाउनुपर्छ । यस्तो बेला अलिकति चनाखो भएर लगानीको निर्णय लिनुुपर्छ । अहिले कतिपय कम्पनीको मूल्य २०१५ को भन्दा पनि तल आइसकेको छ, यस्तो सेयर किन्ने अहिले नै स्वर्णिम अवसर हो । यस्तो सेयर किन्दा क्षणिक समय घाटा देखिएला, त्यसले बिस्तारै लङटर्ममा ग्रोथ लिन्छ, यस्तो सेयरमा गरिएको लगानीले उभो लगाउँछ । 

तर, म फेरि पनि भन्छुु, यसरी ११०० मै आएर बजार बसिरहनुपर्ने कुनै औचित्य नै छैन । ओभरअल स्टक मार्केटमा जाँदा धेरै डराइहाल्नुपर्ने अवस्था छैन, रिस्क चाहि जहिले पनि हुन्छ, तर धेरै अत्तालिनुु हुँदैन । सचेत भएर अगाडि बढ्नुुपर्छ । अब २–४ दिन कुरौं लगानी गर्नुअघि, नेपाल सरकारको पनि धारणा आओस् । किनभने यो धारणा भनेको ५ वर्षलाई जान्छ । ५ वर्षलाई जाने धारणाले एउटा स्पष्ट संकेत गर्छ, त्यही संकेतअनुसार अगाडि बढ्नुुपर्छ । त्यो संकेतलाई कुर्ने धैर्यता गरौं । यो एकदुुई दिनमै पहाड नै पल्टिने वा भूकम्प आइहाल्ने होइन ।

(कुराकानीमा आधारित)