काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एकपछि अर्को गर्दै हकप्रदको भारी बोकाउने भएको छ । 

बैशाख ५ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको यो इन्स्योरेन्सले आगामी बैशाख २१ गते ६९ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँबाट थप ६५ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत पारित गर्न खोजेको हो । 

यो प्रस्ताव समेत पारित भएपछि कम्पनीको सेयरधनीले निकै छोटो समयमै १६५ प्रतिशत हकप्रदमा पैसा लगाउनुपर्ने बाध्यता हुनेछ । 

यो कम्पनीले यसअघि नै आफ्ना सेयरधनीलाई ४.५२३८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ । बोनस सेयर र सतप्रतिशत हकप्रदको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी हालको ३० करोड १९ लाखबाट वृद्धि भई ६१ करोड ७६ लाखको उचाईमा पुुग्नेछ । 

साधारणसभाबाट थप ६५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित भए यो कम्पनीको चुक्तापूँजी १ अर्ब माथि पुुग्नेछ ।