काठमाण्डौ । विश्वमा पछिल्लो समय चर्चामा रहेका केही विजिनेश आइडियाको बिषयमा तपाईलाई भनियो भने तपाईको प्रतिक्रिया हुनसक्ला: किन मजाक गरेको ? तपाईले भनेजस्तो यस्तो हाँसउठ्दो पनि कहीँ विजिनेश आइडिया हुन्छ ? तर, तपाईलाई थाहा नहुन सक्छ कि विश्वमा हामीले सोच्दै नसोचेको आइडिया लगाएर समेत विजिनेश फस्टाइरहेको छ, मानिसहरु पागलजस्तो लाग्ने आइडियाहरुको कार्यान्वयन गर्दै कम्पनीहरु धमाधम खोलिरहेका छन् । आउनुहोस्, सामान्य सोंचबाट एकछिन टाढा भई विदेशमा पछिल्लो समय सफल बनिरहेका केही अचम्मका र हाँसउठ्दा विजिनेश आइडियाको बिषयमा बुुझौं:

स्वर्गमा आफ्नो स्थान रिजर्ब गर्नुहोस्


मानिसहरु स्वर्गमा आफ्नो स्थान सुरक्षित गर्न एउटा वेबसाइटलाई तँछाडमछाड गर्दै पैसा तिरिरहेका छन् भन्ने कुरा पत्याउनुहुन्छ ? सायद पत्याउनुुहुँदैन । तर, reserveaspotinheaven.com नामको वेबसाइटले मानिसहरुसँग १५ डलर लिएर स्वर्गमा आफ्नो स्थान रिजर्भेसनको सर्टिफिकेट, आइडी कार्ड र त्यहाँ पुुग्ने एक गाइड बुक पनि उपलब्ध गराउँछ । साथै, यो वेबसाइटले यो पनि दाबी गर्छ कि यदि स्वर्गमा आफूले रिजर्ब गरिएको ठाउँमा पुुग्न सकिएन भने कुनै प्रश्न वा शंकाबिना नै उसले पूरा पैसा फिर्ता गरिदिनेछ । त्यसो हो भने तपाई नै भन्नुुहोस्-के कोही व्यक्ति मरिसकेपछि पैसा फिर्ता माग्न फर्केर आउला त ? तर, के गर्ने विदेशमा स्वर्गको अनलाइन सर्टिफिकेट बिक्रीको यही हाँसउठ्दो व्यवसाय फस्टाइरहेको छ । 

ब्वाइफ्रेण्ड बडी पिलो


जसलाई आफ्नो ब्वाइफ्रेण्डको अँगालोमा मात्र निद्रा आउँछ, तर यदि कुनै दिन ब्वाइफ्रेण्ड भएन भने ? यस्ता समस्या हुनेहरुका लागि अहिले ब्वाइ फ्रेण्ड पिलो(अथवा, केटासाथीको शरीरजस्तै सिरानी)को अनलाइन बिक्री भइरहेको छ । तपाई अमेजन लगायतका इकमर्स प्लटेफर्ममा यस्तो सिरानी माग गर्न सक्नुुहुन्छ ।

पोटेटो पार्सल


प्रविधिको उच्चतम विकाससँगै चिठीपत्रको जमाना गइसकेको छ । तर, कुनै व्यक्तिले तपाईलाई आलुमा सन्देश लेखेर पठायो भने के सोच्नुुहुन्छ ? तपाई जेसुकै सोच्नुुहोस्, तर एउटा कम्पनी यस्तै आइडिया प्रयोग गरेर मालामाल बनिरहेको छ । पोटेटो पार्सल नामको कम्पनीले यो विचित्रको पार्सलको अनलाइन अर्डर समेत स्वीकार गरिरहेको छ । कम्पनीले सन्देशको प्रकृति हेरेर पैसा लिने गर्छ । 

भाडाका कुखुरा


तपाई चिकेन आइटमको पारखी हुनुहुन्छ, तर बजारबाट खरीद गरेर खान चाहनुुहुन्न । तपाईलाई कुुखुरा पाल्न पनि आउँदैन भने यस्तो अवस्थामा ‘रेन्ट अ चिकेन’ नामको कम्पनीले तपाईलाई सहयोग गर्नसक्छ । यो कम्पनीले एकजोडी कुुखुराको साथमा एक व्यक्तिलाई तपाईकोमा पठाउँछ र तपाईलाई कुखुरा पालनको आइडिया पनि सिकाउँछ । तपाईले केही दिनमै कुखुरा पालन तपाईको बसको कुरा हो या होइन भन्ने निर्णय लिन सक्नुुहुन्छ । यदि कुखुरा पाल्न तपाई तयार बन्नुुभयो भने यो कम्पनीले तपाईलाई आइपर्ने हर आपतबाट बचाउनेछ । जाडोयाममा तपाईले पालेका कुखुराको देखभाल कम्पनी आफैंले गरिदिनेछ र बसन्त याम लागेपछि ती कुखुरा तपाईलाई फिर्ता गरिदिनेछ । जब तपाई कुखुरा पाल्न अभ्यस्त बन्नुुहुन्छ, त्यसपछि कम्पनीको सेवा लिँन्न भन्न पनि पाउनुुहुनेछ ।

सामान फूटाएर रीस मार्नुहोस्


रीस उठेपछि आफ्ना छेउछाउका सामान तोडफोड गर्ने कतिपय मानिसको बानी हुन्छ । यस्ता व्यक्तिहरुका लागि ‘स्म्यास स्याक’ नामको कम्पनीले रीस पोख्नका लागि सामान उपलब्ध गराउँछ । मानिसलाई जब रीस उठ्छ, तब उनीहरु कम्पनीको स्टोरमा गएर आफ्नो मनखुशीले सामान तोड्न सक्नेछ । तर, सामान फूटाएको पैसा चाहि तिर्नुपर्ने हुन्छ।