काठमाण्डौ । नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम गराउनुपर्नेमा जोड दिइएको छ ।

भियतनाम एक्स्पोमा सहभागी हुन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम पुुगेका नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समाजवादी गणतन्त्र भियतनामका राष्ट्रपति कार्यालयका मन्त्री डाओ भियत ट्रङसँग सोमबार भएको शिष्टाचार भेटमा यस्तो प्रस्ताव गरेका हुन् ।

सो क्रममा लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो । साथै नेपालको कृषि क्षेत्रमा लगानी अभिबृद्धि तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा पनि छलफल भएको थियो । भेटघाटका अवसरमा उच्चस्तरीय प्रतिनिधिमण्डलको आदानप्रदानका विषयमा पनि जोड दिइएको थियो । 

अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरका अध्यक्ष श्रेष्ठ नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यहाँ गएको हो ।