काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको सोही अवधिको भन्दा ८८ प्रतिशतले नाफा बढेको देखिएको हो ।
 
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा ६९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा गरेको खुद नाफा ३७ लाख १४ हजारभन्दा यो ८८ प्रतिशतले बढी हो ।
 
कम्पनीले ब्याज आम्दानीमा गरेको उल्लेख्य वृद्धिका कारण नाफामा पनि उच्च सुधार आएको हो । समीक्षा अवधिसम्ममा कम्पनीले १ करोड ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १७ लाख ३२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी कम्पनीको सञ्चालन मुनाफा समेत बढेको वित्तीय विवरणले देखाएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ८१ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । 
 
कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँमा कुनै थपघट नभए पनि जगेडा कोषको रकम भने निकै कम देखिएको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा १० लाख रुपैयाँ मात्र रहेको छ । गत वर्षको सोही अवधिमा ३९ लाख रुपैयाँ जगेडा कोषमा रहेको थियो । दोस्रो त्रैमासमा ४७ लाख ६६ हजार पुगेको जगेडा कोष तेस्रो त्रैमासमा भने निकै कम देखिएको वित्तीय विवरणमा उल्लेख छ ।