काठमाण्डौ । छैठ पर्वपछि खुलेको बजार मंसिर बित्न लाग्दासम्म पनि अस्थिर नै देखिएको छ । सामान्य अंकको घटबढ सेयर बजारको स्वभाविक प्रवृति भए पनि एक दिनको फरकमा ठूलो अंकको उतारचढावले लगानीकर्ताको मनोबल कमजोर बनाइदिएको छ । एक दिनअघिसम्म १ अर्ब ५० करोडको कारोबार भएको बजारमा भोलिपल्टै ६० करोडको मात्र कारोबार हुने अत्यासलाग्दो अवस्था देखिएको छ । 

यही कुरा बुुझेका नियामकहरुले नियमितजसो प्रेस विज्ञप्ति जारी गरी अर्थतन्त्रका सबै सूचक ठीकठाक रहेका, बजारमा लगानीकर्ताको सहजताका लागि आमूल सुधारका थुुप्रै प्रयासहरु जारी राखिएको र पहिलाको भन्दा सहज अवस्थामा बजार घट्ने ठोस कारण नरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गर्ने गरेका छन् । बजारलाई क्र्यास हुनबाट बचाउन र लगानीकर्ताको मनोबल उचो राखिरहन नियामकहरुको त्यस्ता अभिव्यक्तिलाई एक औपचारिक प्रक्रियाको रुपमा मान्नुपर्छ । किनभने बजार जसरी बढ्छ भनिदैछ, अहिलेको अवस्थामा घट्नसक्ने कारणहरु पनि कम छैनन् । आगामी दिनमा बजार अझै तल झर्नसक्ने ५ मुख्य कारण छन् ।

ब्याजदर र कर्जाको माग
पछिल्लो समय अर्थतन्त्रमा तरलता अभावको समस्या देखिएको छ । बैंक तथा बित्तीय संस्थाहरुमा तरलता अभाव भएकै कारण लगानीयोग्य रकमको कमी छ । यही कारण बैंकहरुले मुद्धती निक्षेपमा आकर्षक ब्याजदरको स्किम सार्वजनिक गर्दै निक्षेप खिचिरहेका छन् । केही हप्ताको अन्तरालमै मुद्धती निक्षेपको ब्याजदर ९ प्रतिशतसम्म पुुगेको छ । यस्तो अवस्थामा जोखिमपूर्ण सेयर बजारमा लगानी गर्नुभन्दा भएको सेयर समेत बिक्री गरी त्यो पैसा मुद्धती निक्षेपमा राख्दा चाहि बढी फाइदा हुने देखेका कतिपय लगानीकर्ता यही योजनातर्फ आकर्षित भएका छन् । 

बैंकले मुद्धती निक्षेपमा वार्षिक ९ प्रतिशतसम्म ब्याजको अफरसँगै कर्जाको ब्याजदर ११ प्रतिशतसम्म पुर्याएका छन् । बैंकरहरुका अनुसार पछिल्लो समय उत्पादनशील क्षेत्रमा कर्जाको माग ह्वात्तै बढेको छ । यही कारण समेत बैंकहरुले समेत जोखिमपूर्ण बन्दै गएको सेयर धितोमा ऋण प्रवाह गर्ने क्रमलाई निकै कम गरेका छन् । कतिपय बैंकले त सेयर धितो राखेर ऋण नै प्रवाह गर्न छाडेका छन् । यसमा बैंकहरुको आफ्नै दाउ छ । तरलता अभावको समस्या अझ विकराल बन्दै गएपछि ब्याजदर अझै बढ्ने र अझ बढी कमाई हुने उनीहरुको विश्लेषण छ । यसले सेयरबजार र लगानीकर्तामा निकै ठूलो निराशा पैदा गरिदिएको छ । बैंकहरुको यही रणनीतिका कारण सेयर धितो राखेर कर्जा लिनेहरु घटेका छन् । बरु भएको सेयर बिक्री गरेर पैसा जम्मा गर्ने र त्यसलाई मुद्धती निक्षेपमा राखेर आनन्दले ९ प्रतिशत ब्याज खानेहरु समेत पछिल्लो समय बढेका छन् । यो क्रम अझ बढ्ने भएकोले भविष्यमा बजार अझै तल झर्नसक्छ । 

मर्दै गएको लाभांशको आशा
नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत ०७४ असार मसान्तभित्रमा वाणिज्य बैंकहरुको चुक्तापूँजी ८ अर्ब हुनुपर्ने र विकास बैंकहरुले २ अर्ब ५० करोड त्यस्तो पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्थाका कारण समयसीमाभित्रै तोकिएको चुक्तापूँजी पुर्याउन बैंक तथा बित्तीय संस्थाहरुले हकप्रद, बोनस सेयरको बाढी नै ल्याएका छन् । ठूलो परिमाणमा हकप्रद र बोनस आएपछि बजारमा सेयरको आपूर्ति बढेको छ र यसले समेत बजारलाई अझ घटाउन दवाब दिइरहेको छ । अर्कोतर्फ, यसपटक पूँजीवृद्धिका लागि ठूलो परिमाणमा हकप्रद र बोनस आएपछि आगामी आर्थिक वर्षदेखि ती बैंक तथा बित्तीय संस्थाले दिने लाभांशको दर खुम्चिने र यसबाट लगानीको खासै चित्तबुुझ्दो प्रतिफल नआउने आँकलन गरेका कारण लगानीकर्ता बजारबाट बाहिरिरहेका छन् । विश्लेषकहरुको भनाईलाई आधार मान्ने हो भने यो वर्ष सतप्रतिशत लाभांश दिने कुनै कम्पनीले समेत आगामी वर्ष साबिकको पूँजीमा ४ गुणा बढी वृद्धि गरेपछि अधिकतम २५ प्रतिशत भन्दा बढी लाभांश दिन सक्दैनन् । यो वर्ष सर्वाधिक बोनस सेयरको घोषणा गर्ने संस्थाले अधिकतम ६० प्रतिशतसम्म दिएका छन् । यो दरले हिसाब गर्दा सोही संस्थाले जतिसुुकै प्रगति गरे पनि आगामी वर्ष १० देखि १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्दैन । यसरी सानो लाभांशका लागि जोखिम मोलेर लगानीकर्ता किन बजारमा अडिरहने ? यही मनस्थितिका कारण समेत सेयर बजारका लगानीकर्ता बाहिरिएर अन्य क्षेत्रमा लगानी गर्न आकर्षित हुँदा बजार अझ तल झर्ने संभावना छ । 

दाउ हेर्दै संस्थागत लगानीकर्ता
पछिल्लो समय बजारलाई एक दिनमै एकसय अंकको उतारचढावमा अस्थिर बनाउने प्रमुख भूमिका संस्थागत लगानीकर्ताहरुले गरिरहेका छन् । उनीहरुले विभिन्न समूह र उपसमूह परिचालन गरेर बजारमा भ्रम पैदा गर्ने र आफ्नो स्वार्थ अनुुकुल निश्चित कम्पनीको मूल्य बढाउने र घटाउने खेलका कारण समग्र बजार प्रभावित भइरहेको छ । पछिल्लो समय बंैकको बढ्दो ब्याजदर, तरलताको अभावको चुलिँदो समस्या लगायतका कारण संस्थागत लगानीकर्ता समेत सेयर बजारबाट निस्किने दाउ हेरिरहेका छन् । उनीहरुले आफ्नो पोर्टफोलियोमा भएका कतिपय सेयर बिक्री गर्न थालिसकेका छन् । आगामी दिनमा बजारबाट निस्किनैका लागि उनीहरुले आफूसँग भएको ठूलो परिमाणको सेयर नै  बिक्री गर्ने ज्यादा संभावना छ । संस्थागत लगानीकर्ताहरुको वरिपरि घुम्ने नेपालको सेयर बजारमा जब त्यो समूहले नै सेयर बिक्री गर्न थाल्यो भने साना लगानीकर्ताको केही जोर चल्नेवाला छैन । त्यसपछि त बजारमा थामिनसक्नुको पहिरो जान सक्छ । 

डूूबेका साना लगानीकर्ता पनि निस्किने मूडमा
१८ सय माथिको उचाईमा पुुगेको बजारमा हौसिएर लगानी गरेका साना लगानीकर्ताहरु अहिले सबैभन्दा बढी डूूबेका छन् । सेयर बजारको पहिलो अनुुभव नै तीतो भएपछि यस्ता लगानीकर्ता पनि बजारबाटै बाहिरिने र थोरै नाफा राखेर वा थोरै घाटा व्यहोरेरै भए पनि सेयर बिक्री गरी सुरक्षित लगानीको क्षेत्रमा लगाउने उनीहरुको योजनाका कारण समेत बजार आगामी दिनमा अझै तल झर्न सक्छ । साना लगानीकर्ताहरुसँग बजार वा लगानीको विषयमा पर्याप्त ज्ञान नहुँदा र त्यस्ता समूहमा भ्रमको प्रचार गरिँदा समेत उनीहरुले करोडौ गुमाइसकेका छन् । अन्यौलका बीच साना लगानीकर्ता धेरै समय बजारमा अडिरहने अवस्था देखिदैन, यसले समेत बजारलाई अझ तल झार्न मद्धत पुुग्नसक्छ । 

राजनीतिक अन्यौल
संविधान संसोधनको मुद्धाबाट सुरु भएको राजनीतिक अन्यौलको गाँठो फूूक्ने अवस्था अझै छैन । सेयर बजारका लगानीकर्ताहरु पछिल्लो समय अन्यौलपूर्ण राजनीतिले देशलाई अस्थिरतातर्फ पो धकेल्ने हो कि भन्ने कुराबाट बढी त्रसित छन् । राजनीतिक अन्यौलका कारण समेत नेपालको पूँजीबजार प्रभावित हुने गरेको छ । अहिलेको राजनीतिक अन्यौल तत्काल समाधान हुने भन्दा पनि द्वन्द्व अझ चर्किएर जाने र दलहरुबीच अझ बढी ध्रुवीकरण हुने अवस्था देखिन्छ । यसले समेत आगामी दिनमा सेयर लगानीकर्तालाई हतोत्साही बनाउनेछ र समग्र सेयर बजार अझ तल झार्न यसले उर्जा भर्नेछ ।