काठमाण्डौ । पूँजी अनुसार नाफा कमाउन नसक्दा त्यसले बैंक  तथा बित्तीय संस्थाहरुको प्रति सेयर आम्दानीमा कति हदसम्म पहिरो जानसक्छ भन्ने उदाहरण ज्योति विकास बैंक भएको छ । यो बैंकका अधिकांश सूचक निकै उत्साहप्रद रहे पनि बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा प्रतिसेयर आम्दानीतर्फ भने भीषण पहिरो गएको देखिएको छ । 

ज्योति विकास बैंकले सोमबार प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार उसको वार्षिकीकृत प्रतिसेयर आम्दानी ११.४३ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको इपीएस २३.६९ रुपैयाँको उचाईमा थियो । 

समीक्षा अवधिमा बैंकको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १० करोड रुपैयाँ थियो । यसरी यो बैंकको चुक्तापूँजीमा करिब १३६ प्रतिशतको वृद्धि  भए पनि नाफामा भने सोअनुसारको प्रगति हुन नसक्दा इपीएस यसरी तल झरेको हो । 

बैंकले तेश्रो त्रैमाससम्म २२ करोड २४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १९ करोड ५६ लाख रहेको थियो । यसरी खूद नाफामा करिब १४ प्रतिशतको वृद्धि भए पनि चुक्तापूँजी त्यो भन्दा धेरै गुणाले बढ्दा इपीएस नराम्ररी प्रभावित भएको देखिएको हो ।

समीक्षा अवधिमा बैंकले निस्क्रिय कर्जा(एनपिएल)लाई समेत काबुमा राख्न सकेको देखिएन । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ०.९९ प्रतिशत रहेको एनपिएल बढेर १.२७ प्रतिशत पुगेको हो । 

तर, बैंकका अन्य सूचकहरुमा भने सन्तोषजनक प्रगति भएको देखिएको छ । समीक्षा अवधिमा बैंकले १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १३ अर्ब ८५  करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९ अर्ब ३५ करोड निक्षेप संकलन  गरी ८ अर्ब ३८ करोड कर्जा परिचालन गरेको थियो ।

ज्योति विकास बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ३५ करोड ६१ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ५३ करोड माथि पुगेको छ ।

२३ करोड ७४ लाख रहेको संचालन मुनाफा बढेर ३४ करोड १३ लाखको उचाईमा पुगेको छ भने ३४ करोड रुपैयाँमा सीमित रिजर्बकोष पनि बढेर ४२ करोड ३९ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११६.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.५१ गुणा कायम भएको छ ।