काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक  वर्षको तेश्रो त्रैमासमा खासै कमाल देखाउन सकेन । यो बैंकले गत वर्षको यही अवधिको तुलनामा नाफामा झिनो मात्र प्रगति गर्न सकेको हो । 

अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा २६ करोड ५७ लाख रहेकोमा यो वर्ष २६ करोड ६२ लाख मात्र भएको हो । यो हिसाबले नाफामा ५ लाख रुपैयाँको मात्र वृद्धि गर्न सकेको देखिएको हो ।

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा खूद ब्याज आम्दानीमा पनि सामान्य मात्र प्रगति भएको छ । अघिल्लो वर्ष ५३ करोड २७ लाख रहेको यस्तो आम्दानी यो वर्ष ५३ करोड ९६ लाख मात्र भएको हो ।

ओम डेभलपमेन्ट बैंकले यो अवधिमा १९ अर्ब १४ करोड निक्षेप संकलन गरी १७ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १३ अर्ब ६१ करोड निक्षेप संकलन गरी ११ अर्ब ५५  करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले ३९ करोड  ९७ लाख रहेको संचालन नाफा बढाएर ४० करोड ४३ लाखको उचाईमा पुर्याएको छ भने ५३ करोड २७ लाखमा सीमित रिजर्बलाई  मजबुत बनाई ६७ करोड ९० लाखको उचाईमा पुर्याएको छ । 

गत वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ३६ करोडमा सीमित चुक्तापूँजी बढेर २ अर्ब ५१ करोड पुगे पनि नाफा स्थिर रहँदा यसको सोझो असर प्रतिसेयर आम्दानीमा परेको देखिएको छ । यहीकारण २६.०५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानीमा तीव्र गिरावट भई १४.१२ रुपैयाँमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.९६ गुणा र इक्वीटीमा प्रतिफल १२.१३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष इक्वीटीमा प्रतिफल २१.७७ प्रतिशतको उचाईमा थियो ।