काठमाण्डौ । आफ्ना कर्मचारीको वृति विकासमा एक वर्षमा अर्ब बढी रकम खर्चिए पनि नेपाल राष्ट्रबैंकको  उच्च व्यवस्थापनको निर्देशनलाई लत्याउँदै कर्मचारी भने अराजक र अनुशासनहीन बन्ने गरेका गम्भीर आरोप लागेको छ । 

उच्च व्यवस्थापनको निर्देशन अवज्ञा  गर्ने, महत्वपूर्ण अनुसन्धानको फाइल लुकाउने तथा अड्काउने, आफ्नो पायक नपरेका कुराहरुमा युनियन छिराएर लफडा गर्नेदेखि केन्द्रीय बैंकका  कर्मचारीहरुले वार्षिक पोशाक  भत्ता लिएर पोशाक  भने नलगाउने गरेकासम्मको आरोप  लागेको हो ।

कर्मचारीहरु अराजक र अटेरी बन्दै गरेका भन्ने आशयका य ीआरोपहरु नेपाल राष्ट्रबैंकको ६३ औं वार्षिकोत्सवको अवसरमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लगाएका हुन् ।

भावी गभर्नरको रुपमा आफूलाई विभिन्न फोरमहरुमा प्रस्तुत गर्न थालेका उनले राष्ट्रबैंकका कर्मचारीहरुको सेवासुविधामा भारि वृद्धि गरिए पनि कर्मचारीहरुले व्यवस्थापनलाई असहयोग गर्ने गरेका, विभिन्न प्रकरणका आरोपीसँग मिलेमतो गरी फाइल लुकाउने गरेका दाबी गरे ।

‘अब जसले फाइल लुकाउँछ, त्यसलाई हामी कारबाही गर्छौ ।’ उनले थपे–‘हामीले कर्मचारीलाई पोशाक  भत्ता दिन्छौ, तर धेरैले पोशाक नलगाउने गरेका पाइएको छ, त्यस्ता कर्मचारीमाथि पनि कारबाही हुनेछ ।’

केही समयअघि अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले महत्वपूर्ण फाइल अड्काउने र लुकाउने गरेका प्रकरण सार्वजनिक भएको थियो । सोहीकारण उनीले सम्हालिरहेका २ विभाग समेत खोसेर गभर्नर डा. चिरञ्जिवी नेपालले डेपुटी गभर्नर शिवाकोटीलाई सुम्पिएका थिए । शिवराज श्रेष्ठको जिम्मेवारी संकुचनमा पारिएको बेला शिवाकोटीले फाइल लुकाउने प्रकरण वार्षिकोत्सव समारोहबाटै सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।