काठमाडाैँ । चालू आर्थिक वर्षको तेस्रो त्रेमासमा गह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको नाफा उल्लेख्य रुपमा कमी आएको छ भने श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सक कम्पनीको नाफामा केही सुधार आएको छ । यी दुवै संस्थाले आइतबार प्रकाशन गरेको पहिलो नौ महिनासम्मको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । 

गत वर्ष ५ करोड १९ लाख नाफा आर्जन गरेको गुह्येश्वरीको नाफामा करीव ३० प्रतिशतले गिरावट  आएर ३ करोड ७८ लाख मात्र कायम भएको छ । उसको खुद ब्याज आम्दानी भने बढेको देखिएको छ । वर्ष ८ करोड १३ लाख ब्याज आम्दानी गरेको फाइनान्सले यस वर्ष ९ करोड ९१ लाख ब्याज आम्दानी गरेको छ । फाइनान्सको चुक्ता पूँजी ८० करोड रहेको छ भने रिजर्भमा १४ करोड ५१ लाख रुपैया रहेको छ ।

पहिलो नौ महिनाको अवधिमा फाइनान्सले २ अर्ब ६७ करोड निक्षेप गरेको र २ अर्ब ३९ करोड कर्जा परिचालन गरेको समेत वित्तीय विवरणमा उल्लेख छ । खराब कर्जा शून्य दशमलव ६७ बाट कम भएर शून्य दशमलव ३८ मा कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव ३ रुपैयाँ छ भने नेटवर्थ १ सय १८ दशमलव १४ रहेको छ । 
  
उता श्री इन्भेस्टमेन्टको खुद नाफा भने ६ करोड ४९ लाख पुगको छ । गत वर्ष यस कम्पनीले ५ करोड ९२ लाख मात्र खद नाफा आर्जन गर्न सफल भएको थियो । उसको खुद ब्याज आम्दानी बढेको देखिएको छ । गत वर्ष १२ करोड ५१ लाख ब्याज आम्दानी गरेको फाइनान्सले यस वर्ष १२ करोड ८३ लाख ब्याज आम्दानी गरेको छ । फाइनान्सको चुक्ता पूँजी ४३ करोड ५४ लाख रहेको छ भने रिजर्भमा ३७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

पहिलो नौ महिनाको अवधिमा फाइनान्सले ३ अर्ब ४ करोड निक्षेप गरेको र ३ अर्ब १८ करोड कर्जा परिचालन गरेको समेत वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिशेयर आम्दानी २५ दशमलव शून्य ९ रुपैयाँ छ भने नेटवर्थ २ सय ९ दशमलव ७८ रहेको छ ।