काठमाण्डौ । वासल थ्री कार्यान्वयनको क्रममा रहेको नेपाल राष्ट्रबैंकले वाणिज्य बैंक तथा बित्तीय संस्थाको जोखिममा आधारित रही निकै कडा अनुगमन तथा निरीक्षण गर्ने भएको छ । योसँगै बैंक तथा बित्तीय संस्थाहरुको रेटिङ समेत गर्न थाल्नेछ ।  

'निरीक्षण तथा सुपरीवेक्षण विनियमावली-२०७४' जारी गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो ।

यो विनियमावलीअनुसार अब राष्ट्रबैंकको निरीक्षण तथा सुपरीवेक्षण विभागले ६ वटा अलग अलग इकाई गठन गरी निरीक्षण तथा अनुगमनमा कडाई गरिनेछ । सुपरीवेक्षण तथा निरीक्षणमा खटिइनेहरुका लागि निकै कडा आचारसंहिता समेत बनाइएको छ । 

विनियमावलीमा बैंक तथा बित्तीय संस्थाको निकै कडाईपूर्वक अनुगमन गरिने प्रष्ट्याइएको छ । योसँगै सानातिना बाहना गरेर उम्किने, सुशासन कायम नगर्ने संस्थाहरुलाई गाह्रो पर्नेछ ।

निरीक्षण टोलीले समष्टिगत स्थलगत निरीक्षणको क्रममा सम्बन्धित संस्थाको सञ्चालक समितिको गठन र बैठकका निर्णयहरु, रणनैतिक कार्ययोजना, व्यवसायिक कार्ययोजना, आन्तरिक नियन्त्रण प्रणाली, पुँजी योजना तथा पुँजीकोष पर्याप्तता, कोष एवम् सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्जा प्रशासन, नीति, निर्देशिका, सम्पतिको गुणस्तर तथा कर्जा जोखिम व्यवस्थापन, तरलता, बजार, ब्याजदर तथा संचालन जोखिम व्यवस्थापन, विदेशी विनिमय कारोवार तथा विदेशी विनिमय जोखिम व्यवस्थापन, समग्र जोखिम व्यवस्थापन, वासलात बाहिरका कारोवारहरूको स्थिति, व्यवस्थापन सूचना प्रणाली, अभिलेख प्रणाली र सुरक्षा, मानव संशाधन व्यवस्थापन,सम्पत्ति शुद्धीकरण निवारण कानून र निर्देशनको कार्यान्वयन अवस्था,सम्बन्धित वाणिज्य बैंक वा वित्तीय संस्थाहरुले तयार गरी कार्यान्वयनमा ल्याएका सबै नीति, कार्यविधि, मार्गदर्शन (म्यानुअल, गाईडलाईन) आदिको विवरण र सो को अध्यावधिक अवस्था, प्रचलित कानुन तथा केन्द्रीय बैंकबाट जारी गरिएका नियमन, आदेश तथा निर्देशनको अनुपालनाको अवस्था लगायतका  विषयवस्तुहरुको कडाईपूर्वक अनुगमन गरिनेछ ।

सम्बन्धित बैंकका शाखा, तिनबाट ऋण प्रवाह भएका परियोजना समेत निरीक्षण गर्नसक्ने नियमावलीमा उल्लेख छ ।

निरीक्षण टोलीले आपूmले समष्टिगत स्थलगत निरीक्षण गरेको वाणिज्य बैंक वा वित्तीय संस्थाको रेटिङ्ग गरी स्तर निर्धारण गर्नुपर्नेछ । यसका लागि जोखिम विवरण(रिस्क प्रोफाइल) तयार गर्नुपर्ने, क्यामेल्स रेटिंग गर्नुपर्नेछ । 

वाणिज्य बैंक वा वित्तीय संस्थाहरुको जोखिममा आधारित सुपरिवेक्षण विधि अनुरुप गरिने समष्टिगत स्थलगत निरीक्षण पश्चात म्यानुअल अनुरुपको सम्बन्धित संस्थाको जोखिम विवरण (रिस्क प्रोफाईल) तयार गर्नुपर्नेछ । 

यस्तै, क्यामेल्स (सी ए एम इ एल एस) रेटिङ्ग गर्नुपर्नेछ । यस अन्तर्गत वाणिज्य बैंक वा वित्तीय संस्थाको पुँजीकोषको पर्याप्तता (सी), सम्पत्तिको गुणस्तर (ए), व्यवस्थापन (एम), प्रतिफल (इ), तरलता (एल) तथा बजार जोखिम (एस) को संवेदनशीलतालाई प्रमुख आधार बनाई रेटिङ्ग गर्नुपर्ने भनिएको छ । तर, लघुवित्त वित्तीय संस्था, इजाजतपत्र प्राप्त सहकारी संस्था र गैर–सरकारी संस्थाको हकमा भने सम्बन्धित निरीक्षण कार्यविधिमा उल्लेख भए बमोजिम मुल्यांकन गर्न सकिने व्यवस्था गरिएको छ । 

राष्ट्रबैंकको सम्बन्धित विभागले वाणिज्य बैंक वा वित्तीय संस्थामा निरीक्षण टोली पठाई वाणिज्य बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरु जस्तै–अन्तरनिहित जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन लगायतका क्षेत्रहरु समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्नेछ । 

बैंक वा वित्तीय संस्थाको जोखिम विवरण (रिस्क प्रोफाइल) को आधारमा वा विभागले मनासिब ठानेमा कुनै विशेष क्षेत्र वा कारोवार समेटिने गरी लक्षित निरीक्षण कार्य गर्न सक्नेछ । 

गैर–स्थलगत सुपरिवेक्षण, प्रतिवेदन कार्यान्वयन इकाई, सार्वजनिक सञ्चार माध्यम, विभिन्न सरकारी एवम् अन्य निकायहरुको अनुरोध÷निर्देशन÷आदेश, उजुरी एवम् अन्य श्रोतबाट प्राप्त जानकारीको आधारमा कुनै वाणिज्य बैंक वा वित्तीय संस्थामा निक्षेपकर्ताको हित विपरित कार्य भइरहेको वा अनियमितता भइरहेको वा वाणिज्य बैंक वा वित्तीय संस्था सुचारू रूपले सञ्चालन नभएको वा सर्वसाधारणलाई गलत सूचना प्रवाह गरिरहेको वा जोखिम विवरण (रिस्क प्रोफाईल) मा अप्रत्यासित परिवर्तन भएको भन्ने विभागले महसुस गरेमा त्यस्तो वाणिज्य बैंक वा वित्तीय संस्थाको जोखिमका क्षेत्रहरु समेटी विशेष निरीक्षण कार्य गर्न सक्नेछ । यस्तो निरीक्षण आकस्मिक रुपमा पनि गर्न सकिने छ । 

स्थलगत निरीक्षण तथा गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरुको सुधार गर्न दिईएका निर्देशनहरुको कार्यान्वयनको सम्बन्धमा वाणिज्य बैंक वा वित्तीय संस्थाले पेश गरेको कागजात प्रति विभाग विश्वस्त हुन चाहेमा वा विभागले अनुगमन निरीक्षण आवश्यक ठानेमा वाणिज्य बैंक वा वित्तीय संस्थामा गई वा विस्तृत विवरण वा सूचनाहरू विभागमा झिकाई अनुगमन निरीक्षण कार्य गर्न सक्नेछ । 

यस्तै, विभागले वाणिज्य बैंक वा वित्तीय संस्थाहरुबाट प्राप्त सूचना, जानकारी एवम् विवरणहरुको आधारमा गैर–स्थलगत सुपरिवेक्षण गर्ने व्यवस्था गरिएको छ । 

निरीक्षण तथा सुपरीवेक्षण विनियमावली २०७४ को पूर्ण अंश यहाँ क्लिक गरेर पढ्नुहोस् ।