काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रमको ब्यग्र प्रतिक्षा गरिरहेका लगानीकर्ताका कारण साताको दोश्रो कारोबार दिन सोमबार बजार २.०६ अंकले घटेको छ भने कारोबारमा झिनो बढोत्तरी भएको छ । 

सोमबारको बजारको यो अवस्थालाई स्थिर नै भन्न सकिन्छ । किनभने बजारमा १० अंकको घटबढ सामान्य मानिन्छ । 

अधिकांश लगानीकर्ताहरु सरकारको नीति तथा कार्यक्रम र त्यसपछि अर्थमन्त्रीबाट प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको प्रतिक्षामा छन् । सेयर बजारको बिषयमा सरकारले कस्तो नीति ल्याउला भन्ने बिषय अधिकांशका लागि प्रतिक्षाको बिषय बनेको छ । सेयर बजार वा कारोबारमा लाग्ने करसँग जोडिएका कतिपय विषयहरुमा लगानीकर्ताहरुमा रहेको अन्यौल अझै फाट्न सकेको छैन । यसले समेत लगानीकर्तालाई पूर्ण आत्माविश्वासी बनाउन सकेको छैन । यसरी लगानीकर्तामा बजारमा आक्रामक रुपमा प्रवेश गर्ने बिषयमा धुकचुक धुकचुक भइरहेका कारण समेत बजार वृद्धि हुन नसकेको विश्लेषक बताउँछन् । 

लगानीकर्ताहरुमा एकातिर बजारसँग जोडिएका महत्वपूर्ण बिषयमा अन्यौल कायमै छ भने केवाइसी अपडेटले समेत केही दिनदेखि बजारमा प्रभाव पारिरहेको छ । 

यो दिन बजारका ५ समूहको सूचकमा रातो पोतियो भने बाँकी ४ समूहको सूचक हराभरा भए । 

बैकिङ समूह ३.४३ अंकले घट्यो भने विकास बैंक, जलविद्युत, बित्त र बिमा समूह क्रमशः ६.३, ७.२९, ०.५७ र ७६.४५ अंकले ओरालो लागे । 

यो दिन माइक्रोफाइनान्स समूहमा ३५.८२ अंकको उछाल देखियो । होटल समूह ११.२७ अंकले बढ्यो भने उत्पादनमूलक ८.३९ र अन्य समूह ४.८१ अंकले उक्लिए । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१२ अंकको गिरावट देखियो। 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ८ लाख ७ हजार ५ सय ३३ कित्ता सेयर ३५ करोड ५४ लाख ५० हजार ७ सय ९० रुपैयाँमा किनबेच भयो ।

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २२.०६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको नागरिक लगानीकोषको सेयरमा खरीद चाप देखियो । यो कम्पनीले सबैभन्दा बढी २ करोड ४१ लाख बढीको कारोबार गर्यो ।

राष्ट्रिय बिमा कम्पनी लिमीटेडले १ करोड ८२ लाख र नेशनल लाइफले १ करोड ७२ लाख बढीको कारोबार गरेको बजारमा ज्योति विकास बैंकको १ करोड ६७ लाख र सेञ्चुरी कमर्सियल बैंकको १ करोड ४२ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

स्वरोजगार लघुवित्त विकास बैंकले १ करोड ३७ लाख बढीको कारोबार गरेको बजारमा राष्टिय बिमा कम्पनीको १ करोड २५ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यो दिन गण्डकी विकास बैंकले १ करोड १३ लाख, साना किसान विकास बैंकले ७८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ७७ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यो दिन स्वरोजगार लघुवित्त विकास बैंक र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन राष्ट्रिय बिमा कम्पनी लिमीटेडका साधारण सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.७९ प्रतिशतले घट्यो । तारागाउँ रिजेन्सी होटलको मूल्य ५.७० प्रतिशतले घट्यो ।