काठमाण्डौ । सरकारले बहालवाला प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) प्रयोजनका लागि प्रम र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली
ओलीकी श्रीमती राधिका शाक्यको नाममा भक्तपुर सूर्य विनायक २ मा १ रोपनी र आधा रोपनी जग्गामा बनेको ३ तले २ वटा घर रहेको छ । यो घर तथा जग्गाको स्रोत स्वआर्जन भनिएको छ । यस्तै, शाक्यकै नाममा झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा समेत रहेको प्रमको सम्पत्ति विवरणमा उल्लेख छ । 

ओलीसँग स्वआर्जनबाट जोडेको १८ तोला सुनका गरगहना रहेका छन्  भने राधिका शाक्यको नाममा माछापुच्छे र प्रभू बैंकमा १० लाख नगद तथा प्रम ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । 

राधिका शाक्यले राष्ट्रिय बचतपत्रमा स्वआर्जनबाट आएको २५ लाख रुपैयाँ लगानी गरेकी देखिएको छ । शाक्य नेपाल राष्ट्रबैंकका पूर्व प्रथम श्रेणीकी अधिकृत हुन् । 

डा. युवराज खतिवडा, अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले समेत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खतिवडाको नाममा काठमाण्डौ ४ मा ५ आना जग्गा तथा कमला खतिवडाको नाममा काठमाण्डौ ४ मै १४ आना जग्गा रहेको छ । यस्तै, खतिवडाको भक्तपुरको चागुनारायणमा ४५ लाख रुपैयाँ पर्ने १२ आना जग्गा, कमला खतिवडाको नाममा समेत सोही ठाउँमा १२ आना नै अर्को जग्गा, कमलाकै नाममा झापा गौरादह ९ मा ४ विगाहा ८ कठ्ठा जग्गा, दोलखाको जिरीमा ४ लाख पर्ने अर्को जग्गा, अर्थमन्त्री खतिवडाको नाममा झापाको गौरादहमै १० धुर जग्गा, काठमाण्डौको कागेश्वरीमा कमला खतिवडाको नाममा २४ लाख पर्ने अर्को जगगा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

खतिवडा परिवारसँग १० तोला सुन, १ केजी चाँदी र डेढलाख रुपैयाँ नगद बैंकमा मौज्दात रहेको देखाइएको छ । 

यस्तै, खतिवडाको नवील, माछापुच्छे, इन्भेष्टमेन्ट, सानिमा, जनता, एभरेष्ट लगायतका बैंकमा ९० लाखको हाराहारीमा नगद रहेको छ । खतिवडाको सावल सहकारीमा ५ लाख बराबरको संस्थापक सेयर तथा दुर्गा भवानी सहकारीमा पत्नी कमलाको नाममा ५ हजार बराबरको संस्थापक सेयर रहेको छ । खतिवडासँग २०७१ सालमा खरीद गरेको एउटा मोटरकार रहेको छ भने रंगीन टेलिभिजन १ थान, मोवाइल सेट २ थान रहेका छन् । खतिवडाले सम्पत्ति आर्जनको स्रोतमा आफूले विभिन्न निकायमा खाएको जागिरलाई उल्लेख गरेका छन् । 

ईश्वर पोखरेल, रक्षामन्त्री
रक्षामन्त्री ईश्वर पोखरेलकी पत्नीको नाममा काठमाण्डौको टोखा ६ मा २३ आनामा बनेको ३ तले घर रहेको छ । काठमाण्डौ ४ को घरजग्गाबिक्री र बैंक ऋणबाट सो घर बनाइएको सम्पत्ति विवरणमा उल्लेख छ ।

पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा, मिरा पोखरेलको नाममा भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना जग्गा(माइतीबाट प्राप्त), धादिंगको खानीखोलामा ४ रोपनी जग्गा रहेको छ ।

पोखरेलसँग ९ तोला जति सुन र २५ तोलाको हाराहारीमा चाँदीको गरगहना रहेका छन् । 
पोखरेलको नेपाल इन्भेष्टमेन्ट बैंकमा ७ लाख, मिरा पोखरेलको एभरेष्ट बैंकमा १ लाख ४० हजार र सानिमा बैंकमा ५ लाख रुपैयाँ रहेको छ । 

पत्नी मिराको नाममा वरुण हाइडोमा १० कित्ता, कृषि विकास बैंकमा २०० कित्ता र मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता सेयर रहेको छ । व्यक्तिगत सवारी साधन नरहेको र मिरा पोखरेलले माछापुच्छे बैंकबाट घर बनाउन लिएको ३० लाख रुपैयाँ ऋण रहेको देखाइएको छ । 

रामबहादुर थापा, गृहमन्त्री
थापा पत्नी नैनकला थापाको नाममा चितवनको १० गमा पौने २ कठ्ठा जग्गा रहेको छ । यो सम्पत्ति अंशबाट पाएको उल्लेख छ । यस्तै, नैनकलाकै पेवाको रुपमा २३७ वर्गमिटर क्षेत्रफलको जग्गा समेत रहेको छ । थापा परिवारसँग सुन ६ तोला र ३ लाख जति नगद रहेको छ । 
थापाको एभरेष्ट बैंकमा २० हजार नगद, गृहमन्त्रीको स्वकीय सचिव बिरु तामांगको नाममा ३ लाख ६० हजार नगद समेत एभरेष्ट बैंकमै रहेको छ । 

 

अपर तामाकोशीमा श्रीमतिको नाममा १४६ कित्ता सेयर रहेको समेत देखाइएको छ । 
 

उनले पार्टीको नामको गाडी चढ्ने गरेका छन् । गृहमन्त्री थापाको घरमा एक कुकुर र अर्को एक कुकुर्नी समेत सम्पत्तिको रुपमा रहेका छन् । 

प्रदीप ज्ञवाली, परराष्ट
पत्नी सरस्वती ज्ञवाली अर्यालको नाममा काठमाण्डौ ३१ मा ४ आना २ दाम ३ पैसा जग्गा रहेको छ । सुन २ तोला रहेको छ भने ज्ञवालीको नाममा एभरेष्ट बैंकमा पारिश्रमिकबापत प्राप्त २ लाख ५७ हजार नगद मौज्दात रहेको छ । यस्तै, कृषि विकास बैंकमा २ हजार नगद रहेको छ । 

उनले विभिन्न मितिमा ८ जनाबाट ऋण लिएको र तिरेको विवरण समेत उल्लेख गरेका छन् ।

ज्ञवालीसँग कम्प्युटर, ल्यापटप, मोवाइल, क्यामेरा, स्क्यानर, प्रिन्टर, टिभी र करिब २५०० पुस्तक समेत सम्पत्तिको रुपमा रहेका छन् ।

वर्षमान पुन, उर्जामन्त्री
उर्जामन्त्री वर्षमान पुनको रोल्पा ७ मा बनेको २ वटा घर र सोही स्थान नजिक अर्को कित्तामा एउटा घर रहेको छ । आमाको नाममा दांगमा ६७४.२३ वर्गमिटर, बुबाको नाममा रोल्पाको जंकोट वडानम्बर १, २ र ३ मा ७५४२५ वर्गमिटर जग्गा रहेको छ । 

सुन १५ तोला, चाँदी २ केजी र नगद ७ लाख रहेको उल्लेख छ । पुनको एभरेष्ट बैंकको खातामा ३ लाख ५० हजार नगद मौज्दात रहेको छ, यो नगद तलबभत्ताबाट प्राप्त भएको हो । उनीसँग एक हलुका सवारी समेत रहेको छ । 

 

लालबाबु पण्डित
चर्चित मन्त्री लालबाबु पण्डितले समेत सम्पत्ति विवरण पेश गरेका छन् । उनको नाममा मोरंगको विराटनगर १२ मा १ कठ्ठा जग्गामा ५ कोठे पुरानो घर रहेको छ । पण्डितको नाममा विराटनगर १२ मै १ कठ्ठा घरमाटो, सर्लाहीमा ४ विगाहा पैतृक सम्पत्ति र विमला पण्डितको नाममा ललितपुरको भैसेपाटीमा ४ आना जग्गा रहेको छ । 

पण्डित दम्पत्तिसँग १० तोला सुन र १५ तोला चाँदीका गरगहना छन् भने पण्डितको एभरेष्ट बैंकमा २५ लाख र पत्नी विमलाको नाममा कृषि र एभरेष्ट बैंकमा ३० लाख नगद रहेको छ । लालबाबुसँग सवारीको नाममा पुरानो एउटा साइकल समेत रहेको सम्पत्ति विवरणमा खुलाइएको छ । 

रविन्द्र अधिकारी
पर्यटनमन्त्री रविन्द्र अधिकारी पोखरा लेखनाथ महानगरपालिका ३३ मा साढे ९ रोपनी जग्गा तथा लक्ष्मीदेवी अधिकारीको नाममा काठमाण्डौको बुढानिलकण्ठमा ५ आना जग्गा रहेको छ । 

यस्तै, पोखरा लेखनाथ २७ मा ४.५ रोपनी घडेरी, वडानम्बर ३३ मा ९० रोपनी जग्गा रहेको छ । यी सबै जग्गा पैतृक सम्पत्ति रहेका विवरणमा उल्लेख छ।

अधिकारीसँग पैतृक सम्पत्तिकै रुपमा ६० तोला सुन तथा ३० केजी चाँदी रहेको छ । यस्तै, अधिकारीसँग गण्डकी विकास बैंकमा जग्गा बिक्रीबाट आएको रकम १५लाख ७५ सय बैंक मौज्दात छ भने पारिश्रमिक बापत आएको रकम ९ लाख ५० हजार एभरेष्ट बैंकको खातामा रहेको छ । 

अधिकारीसँग गण्डकी विकास बैंकको २६ हजार बराबरको सेयर रहेको छ । यस्तै, पानीखोला जलविद्युत आयोजनामा समेत उनको ३० लाख बराबरको सेयर रहेको छ ।

उनीसँग २० लाखमा खरीद गरेको सानो कार समेत रहेको छ । ८० हजार मूल्य पर्ने ल्यापटप एकथान रहेको छ भने २ वटा मोवाइल फोन छन् । 

बिना मगर
प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बिना मगरले समेत सम्पत्ति विवरण पेश गरेकी छिन् । उनले स्वर्गीय पति तथा सासूको नाममा रहेको जग्गा उल्लेख गरेकी छिन् । भरतपुर १४ मा २ कठ्ठा जग्गा प्रकाश दाहालको नाममा रहेको छ, यो जग्गा उनलाई मावली हजुरआमाबाट प्राप्त भएको हो । यस्तै, सीता दाहालको नाममा भरतपुर १२ मा १ कठ्ठा जग्गा रहेको छ । 

मगरसँग ५ तोला सुन र १६ तोला चाँदी रहेका छन् । मगरको कुनै पनि बैंक मौज्दात छैन भने स्वर्गीय पतिको नाममा रहेको एउटा स्कूटर रहेको छ । 

अन्य कुन मन्त्रीको कत्ति सम्पत्ति रहेछ ? हेर्नुहोस् बुँदागत रुपमा प्रत्येक नाममा क्लिक गरेर :

शक्तिबहादुर बस्नेत
जगतबहादुर सुनार(विश्वकर्मा)
शेरबहादुर तामांग
चक्रपाणि खनाल
गिरिराजमणि पोखरेल
मातृकाप्रसाद यादव
रघुवीर महासेठ
गोकर्ण बिष्ट
थममाया थापा