काठमाण्डौ । राष्ट्रकवि माधव घिमिरेको उपचारका लागि आवश्यक प्रविधि नेपालमा उपलब्ध नभएको र तत्सम्बन्धी विशेषज्ञ समेत नेपालमा नरहेको भन्दै सरकारी खर्चमै उनलाई भारत लगिएको छ । तर, घिमिरेको उपचारमा आवश्यक प्रविधि नेपालमा छैन भन्ने सरकारी दाबी झूठा साबित भएको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटलका अनुसार सो प्रविधि स्वदेशमा उपलब्ध छैन भन्ने दाबी नै झूठा हो । 

‘रोगको उपचार कहाँ र कसलाई गराउने भन्ने विषय सम्बन्धित बिरामी पक्षमा निर्भर रहने सर्वथा सत्य हो ।’ नर्भिक इन्टरनेशनलले भनेको छ-'नर्भिक इन्टरनेशनल हस्पिटलले विगत तीन वर्षदेखि नै इन्टेरोस्कोपी प्रविधिको सफलतम प्रयोग गर्दै आएको छ र उक्त तथ्य राजधानीका तमाम पेट रोग विशेषज्ञहरुबाट छिपेको छैन ।'

बिरामीलाई इन्टेरोस्कोपी प्रविधिको धेरै लामो समयको प्रयोग गरिरहेका ठूला हस्पिटलमा लगिएकोसम्म भन्नु चाहि युक्तिसंगत नै भए पनि प्रविधि नै उपलब्ध नभएको कारण विदेश पठाउनु परेको भन्नु तथ्यहीन रहेको समेत सो अस्पतालले प्रष्ट पारेको छ ।  

‘यस घटनाले विगतमा नेपालका तत्कालिन राष्ट्रिपतिलाई नेपालमा कोलोनोस्कोपी प्रविधि नभएको भन्दै जापानमा कोलोनोस्कोपी गर्न पठाइएको घटनालाई स्मरण गराएको छ ।’ अस्पतालले अगाडि बढेको छ ः यस्तो हास्यास्पद कारण दर्शाइ नेपाली बिरामी जापान पुग्दा त्यहाँका पेटरोग विशेषज्ञ (ग्यास्ट्रोइन्टेरोलोजिस्ट)हरु बेस्सरी हाँसेका थिए । किनकि नेपालमा त्यसमा पनि देशकै राजधानीका कैयन स्वास्थ्य सेवाप्रदायक संस्थाहरु विगत लामो समयदेखि स्तरिय र विश्वसनीय कोलोनोस्कोपी सेवा उपलब्ध भइरहेको तथ्य उनीहरूलाई राम्ररी थाहा थियो ।

राष्ट्रकै एक अग्रणी स्वास्थ्य सेवाप्रदायक संस्था भएको कारण नर्भिकले नेपाली चिकित्सा इतिहासमा धेरैभन्दा धेरै नवीनतम प्रविधिहरु भित्र्याउनमा अग्रणी हुने श्रेय पाएको उल्लेख गर्दै तीमध्ये नर्भिकको अत्याधुनिक र प्रविधिसम्पन्न पाचन प्रणाली उपचार केन्द्र पनि एक रहेको बताइएको छ ।

‘उक्त केन्द्र सन २००४ मै सुव्यवस्थितभएको थियो, जसमा सबै खाले इन्डोस्कोपिहरु, शल्यक्रियात्मक सुविधाहरु र निदानात्मक सेवाहरु व्यवस्थित थिए । उक्त केन्द्रलाई सन २०११ मा पूर्णतया आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय स्तरको केन्द्रको रुपमा रुपान्तरित गरिएको थियो ।’ नर्भिकले भने–‘नर्भिकको उक्तपाचन प्रणाली उपचार केन्द्र हाल राष्ट्रकै एक मात्र सुव्यवस्थित र सुविधा सम्पन्न केन्द्र हो । यस अन्र्तगत नेपालकै  प्रथम ग्यास्ट्रो इन्टेस्टाइनल इन्टेन्सिभ केयर यूनिट (जि.आई.सि.यू) समेत रहेको छ ।’ 

चार वर्ष पूर्व नै राष्ट्रमै सर्वप्रथम इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ई. यू. एस) प्रविधिको सफलतमप्रयोग पश्चातहालसम्म ३५० भन्दा बढि पेटका रोगीहरुको निदान र उपचार यस प्रविधिबाट गरिसकिएको छ ।

‘ब्लुन इन्टेरोस्कोपी’ प्रविधि पनि तीनवर्ष भन्दा केही समय पहिले नै नेपालमै र्सवप्रथम नर्भिकमा सुरु गरिएको थियो । उक्त प्रविधिबाट हालसम्म ५० भन्दा बढी अत्यन्त जटिल खालका सानो आन्द्राको रक्तश्राब समस्याहरु कारण पत्ता नलागेका सानो आन्द्रामा अन्य रक्तस्रावका समस्याहरु र सानो आन्द्राका विविध अर्बुद्ध रोगहरु पत्ता लगाई तिनको सफलतम उपचार समेत गरिसकिएको छ ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'सफलतम उपचार गरिएका बिरामीहरुमा नेपाली तथा विदेशीहरु समेत रहेका छन् । नर्भिकको पाचन प्रणाली उपचार केन्द्रमा सिद्धहस्त र समर्पित पेटरोग विशेषज्ञहरु, पेट रोग शल्यचिकित्सकहरु, एनएस थेसियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञहरू आदिको टोली सेवारत रहेका छन् ।’ 

इन्डोस्कोपीलगायतका सेवाहरूमा समर्पित प्राविधिक कर्मचारीहरु र नर्सहरुलाई इनहाउस विशेषज्ञहरुको टोलीद्वारा निरन्तर तालिम प्रदान गरिने उल्लेख गर्दै यस्ता खाले चिकित्सा समस्याहरुको उपचारका लागि कुनै पनि नेपालीले विदेश धाउनुपर्ने अवस्था र बाध्यता नरहेको नर्भिकका वरिष्ठ चिकित्सक तथा पेट रोग विशेषज्ञ डा. मधु घिमिरे बताउँछन् ।