काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्।

निगमको तेल भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै सरकारले उनलाई ९ महिनाअघि बर्खास्त गरेको थियो । तर, उनी सर्वोच्च अदालत गएपछि पुनर्बहाली भई आयल निगम पुगेका थिए । तर, आपूर्ति मन्त्रालयले उनलाई निगमको जिम्मेवारीबाट मुक्त गर्दै मन्त्रालय तानेर भूमिकाविहीन बनाइदिएको थियो ।  

कारबाहीमा परी मन्त्रालय तानिएको ९ महिनापछि उनले बिहीबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले आफ्नो कार्यकाल ६ महिना बाँकी छँदै राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले सरकारविरुद्ध आक्रोश पोखेका थिए । सर्वोच्च अदालतले न्याय दिएर आफ्नो पक्षमा गरेको आदेश समेत सरकारले कार्यान्वयन नगरेर आफूमाथि पूर्वाग्रही व्यवहार गरेको भन्दै उनी आक्रोशित बनेका थिए । उनले आफूले ऋणमा रहेको आयल निगमलाई नाफामा पुर्याएको, तर आफ्नो योगदानको अवमूल्यन गरी मन्त्रालयमा तानेर भूमिकाविहीन बनाएपछि असह्य भई राजीनामा गर्नुपरेको दाबी गरेका थिए । 

उनले सो क्रममा देशीविदेशी तत्व मिलेर आफूमाथि षड्यन्त्र गरिएको आरोप समेत लगाउन भ्याए ।