जर्मनीको प्रतिष्ठित कार निर्माता कम्पनी आउडीका प्रमुख रुपर्ट स्टाडलर सवारी प्रदूषण उत्सर्जन सम्बन्धी एक काण्डको अनुसन्धानका क्रममा पक्राउ परेका छन् ।

आउडीको स्वामित्व रहेको फोक्सव्यागनका एकजना प्रवक्ताले उक्त कम्पनीका प्रमुख कार्यकारी रुपर्ट पक्राउ परेको पुष्टि गरे।

म्युनिखका अधिकारीहरुले अनुसन्धानका क्रममा आवश्यक प्रमाणहरु नष्ट गर्न सक्ने खतरा रहेका कारण उनलाई नियन्त्रणमा लिनु परेको बताए।

तीन वर्ष अघि उक्त कम्पनीले सवारी प्रदूषण उत्सर्जनको स्तर छल्न सक्ने उपकरण जडान गरेको भन्ने देखिएपछि उक्त प्रकरण सतहमा आएको थियो।

शूरुवाती चरणमा त्यस प्रकारका उपकरणहरु फोक्सव्यागन कारमा जडान गरेको पत्ता लागेको थियो, तर यसको सहायक कम्पनी आउडीसमेत उक्त काण्डमा मुछिएको छ।

गत महिनामात्र उक्त कम्पनीले 'ए सिक्स' र 'ए सेभेन' मोडेलका थप साठी हजार डिजेल गाडीहरुमा समेत त्यस्तै प्रदूषण उत्सर्जन सम्बन्धी समस्या रहेको स्वीकार गरेको थियो।

यो गत बर्ष आउडीले बजारबाट फिर्ता लगेको आठलाख पचासहजार कार बाहेक थप संख्या हो जसमध्ये केहीलाई मात्र सुधार गरिनुपर्ने देखिएको थियो।

म्युनिखका अधिकारीहरुका अनुसार रुपर्ट स्टाडलरले आफ्ना वकिलहरुसँग छलफल गरेपश्चात आगामी बुधबारसम्म उनको बयान लिइने छ।

प्रदूषण उत्सर्जनसम्बन्धी सो प्रकरण सबैभन्दा पहिला २०१५ को सेप्टेम्बर महिनामा प्रकाशमा आएको थयो।

अमेरिकामा बिक्री गरिएका झण्डै ६ लाख कारहरुमा प्रदूषणको स्तरको गलत मापन दिएर जाँचपास गर्ने उपकरण जडान गरिएको फोक्सव्यागनले स्वीकार गरेको छ।

उक्त कार निर्माता कम्पनीले भनेको छ, विश्वभर उसका एक करोड दश लाख डिजेल गाडीहरुमा त्यस्तो सफ्टवेयर जडान गरिएको थियो जसले कहिले प्रदूषणको स्तर परीक्षण हुन्छ भन्नेबारे बताउँथ्यो र उत्सर्जन कम गर्न सुझाउँथ्यो।

त्यस्ता उपकरण जडित डिजेल गाडीहरुले प्रयोगशालामा परीक्षण गर्दा भन्दा सडकमा ४० गुणासम्म बढी प्रदूषण गर्ने गर्थे।

बीबीसीबाट