काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोश्रो चीन भ्रमणको क्रममा समेत नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स(एनए)लाई बेवास्ता गरी निजी क्षेत्रबाट प्रवद्र्धित हिमालय एयरलाइन्सलाई रोजेका छन् । 

उनले निजी क्षेत्रबाट संचालित र आफ्ना केही निकटस्थ व्यापारीहरुको समेत लगानी रहेको हिमालय एयरलाइन्सको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो दोश्रो चीन भ्रमणमा समेत सोही कम्पनी रोजेका हुन् । 

प्रम ओली तथा उनकी पत्नी राधिका शाक्यसहित नेपाल सरकारका उच्च अधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा २०७५ सालअसार ५ गते चीनकोे राजधानी बेइजिङ प्रस्थान गरेको हो । सो टोलीलाई हिमालय एअरलाइन्सको एयरबस ३२०, नेपाली दर्तानम्बर नाइन एन एएलडब्ल्यूले चीन पुर्याएको हो ।

सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको थियो । 

भ्रमणमा प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सांसदहरु सहभागी थिए ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै उनका विशेष निकटस्थ व्यापारी तथा हिमालय एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउग्वो छ्याङ समेत सहभागी थिए । 

हिमालय एयरलाइन्सले भने प्रधानमन्त्रीको रुपमा ओलीलाई दोश्रो पटक समेत सेवा दिन पाउँदा गौरव महसुस भएको प्रष्ट्याएको छ ।