काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं.१६, माछापोखरीमा आइतबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

सो शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामीश्री आनन्द अरुण र बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल(धुर्मुस) तथा कुञ्जना घिमिरे(सुन्तली)ले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा स्वामीश्री आनन्द अरुणले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका सेवाहरुमा आर्थिक विकासका साथै सामाजिक, भौतिक, आध्यात्मिक तथा पर्यावरणको पनि विकास गर्नमा थप योगदान पुर्याउनुपर्नेमा जोड दिए ।

बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली)ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धतासहित बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

त्यसैगरी नेपाल होटल व्यवसायी संघका अध्यक्ष अमर दाहालले यो विकास बैंकले बसपार्क क्षेत्रलाई लक्षित गरी आफूहरुलाई अझै नजिकबाट सेवा प्रदान गर्न आएकोमा स्वागत गर्दै बैंकको प्रगतिको कामना गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवाविस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकका हालसम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् भने काठमाण्डौ उपत्यकाभित्र महाराजगञ्ज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आइसकेका छन् । साथै जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ।