काठमाण्डौ । ब्रिटेन पूर्ण रुपमा यूरोपिय संघ(इयू)बाट बाहिर भएपछिको उसको समग्र अवस्था कस्तो होला, त्यो भविष्यले नै बताउला । तर, ब्रिटेनले इयूबाट आफूलाई बाहिर ल्याउन गरेको निर्णयको असर भने उसको अर्थव्यवस्थामा देखिन थालेको छ । ब्रिटेनका परिवारहरु दिनप्रतिदिन गरीब हुँदै गइरहेका छन् । 

त्यहाँका कम्पनीहरु लगानीकर्तालाई लिएर अधिक सतर्क भइरहेका छन् भने प्रोपर्टी बजार ठण्डाराम बन्दै गइरहेको छ । इयूभन्दा बाहिर रहने जनमत संग्रहबाट फैसला भएपछिको २ वर्षमा ब्रिटेनको आर्थिक वृद्धिदरको गति समेत सुस्त बनेको छ । जबकि त्यसभन्दा अगाडि आर्थिक वृद्धिदरको हिसाबले ब्रिटेनको प्रगति विश्वकै लोभलाग्दो थियो । वृद्धिदरको यात्रामा ऊ सधैं अरुभन्दा अगाडि अगाडि हुन्थ्यो । 

ब्रिटेन आगामी सन् २०१९ को मार्च २९ पछि औपचारिक रुपमा इयूबाट बाहिरिनेछ । इयूसँग नाता टुटेसँगै उसँग ब्रिटेनको कस्तो खालको सम्बन्ध रहन्छ यो बिषयलाई लिएर अनिश्चितता समेत छ । यहीकारण यसले परिस्थितिलाई अझ बढी बिगारिदिइरहेको छ । 

ब्रिटेनका प्रधानमन्त्री टरिजा मे अझै पनि इयूसँग बाहिरिएपछि कस्तो सम्बन्ध रहन्छ भन्ने कुरामा अन्यौलग्रस्त छन् । पछिल्लो समय केही मानिस ब्रिटेनसँग सम्बन्ध बिच्छेदको पक्षमा छन्, जसले ब्रिटेनलाई इयूको मुक्त व्यापार संघबाट पूर्ण रुपमा अलग गरिदिन्छ । 

यस्तै, अर्काथरि भने जतिसम्म संभव हुन्छ, त्यति ब्रिटेनले यूरोपीय संघसँग नजिकको सम्बन्ध राख्नुपर्ने पक्षमा छन् । यसको अर्थ ब्रिटेनले आगामी दिनमा समेत इयूकै नियम पालना गर्नुपर्ने भन्ने पनि हुनसक्छ । 

अर्कोतर्फ, एयरबस जस्ता ठूला कम्पनीहरुले व्यापारिक सम्बन्धलाई लिएर अवस्था प्रष्ट नभएको भन्दै ब्रिटेन नै छाडेर हिँड्ने धम्की समेत दिइरहेका छन् । यसले ठूलो परिमाणमा पूँजी पलायन(क्यापिटल फ्लाइट)को खतरा समेत मडारिन थालेको समाचारमा जनाइएको छ । एयरबस कम्पनीमा मात्रै ब्रिटेनका १४ हजार मानिस काम गर्छन् । सांसद डोरेन जोन्सले भनेका छन् कि ब्रेक्जिट वार्ताको बिषयमा सरकारले जुन किसिमको अनिश्चितता बनाएको छ, यसैका कारण ब्रिटेनका हजारौं सक्षम मानिसको रोजगारीमा संकटको बादल मडारिन थालिसकेको छ । 

सन् २०१६ को जून महिनामा भएको जनमत संग्रह भन्दा अगाडि ब्रिटेनको अर्थव्यवस्था वर्षौसम्म तीव्र गतिमा बढिरहेको औद्योगिक अर्थव्यवस्थाको रुपमा स्थापित थियो । तर, अब यसमा निकै मुश्किलले मात्र बढोत्तरी भइरहेको छ । यो वर्षको पहिलो त्रैमासमा ब्रिटेनको अर्थव्यवस्थाको वृद्धिदर गत वर्षको यही अवधिको तुलनामा ०.१ प्रतिशतले मात्र बढ्यो । यो गत पाँच वर्षकै सबैभन्दा कम वृद्धिदर हो । यसबाहेक ब्रिटेनको मुद्रा पाउण्डमा समेत उस्तै गिरावट आइरहेको छ । २०१६ को जनमत संग्रहपछि पाउण्डको मूल्य १५ प्रतिशतले घटिसकेको छ । यसले उपभोक्ता तथा कम्पनीहरुले गर्ने आयात अचाक्ली महंगो भइरहेको छ ।