काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले प्राधिकरणमा सर्वसाधारणका लागि समेत लगानीको अवसर खुलाउन लागिएको बताएका छन् । 

उनले घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै  प्राधिकरण ऐनअनुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई  सम्बोधन गर्दै उनले प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले त्यसको पनि आवश्यक तयारी गरिने भएकाले नाफामा जाने गरी काम गर्न सबै कर्मचारीलाई आग्रह गरे । तीन वर्ष पहिले २९ अर्ब रूपैयाँ घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल ३५ अर्ब रूपैयाँ पुगेको छ ।

उनले एक अर्को प्रसंगमा, काठमाडौँ उपत्यकामा विद्युतभार कटौतीमुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौती थपिएको बताए ।

विद्युतभार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले प्रणाली बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको पनि उनले दाबी गरे । काठमाडौँ उपत्यकामा हटाइएको विद्युतभार कटौतीलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको जानकारी दिँदै घिसिङले यसमा नागरिक तहबाट पनि सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी बनाउन र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा प्राधिकरणमा कार्यरत विभिन्न कर्मचारी सङ्घसङ्गठनका प्रतिनिधिले प्राधिकरण सुधारको प्रक्रियामा साथ दिन आफूहरु तयार रहेको बताए ।

शनिबारसम्म चल्ने एकता सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए ।
(राससको सहयोगमा)