-प्रकाश बञ्जारा
यूएई । अध्ययन गरेपछि जागिर नै खानुपर्छ भन्ने छैन, कुनै पेशा, व्यवसाय गरेर पनि जीवनलाई सफल र सक्षम बनाउन सकिन्छ । यसो भनिरहँदा बिजशालाले थालनी गरेको सफलताको कथा समेट्ने क्रममा यसपटक हामी स्याङ्गजाको कालिकाकोट गाविस वडानम्बर ३ मा जन्मेहुर्केका यमानन्द तिवारीलाई भेट्न पुग्यौं । तिवारीसँग भेटेपछि यस्तो लाग्यो–एउटा सफल व्यक्ति बन्न कुनै फरक विषयमा गरेको डिग्रीले फरक पार्दैन, लगन र मेहनत भयो भने पढाईभन्दा विल्कुल फरक पेशा भए पनि सफल बन्न सकिन्छ । विगत १९ वर्षदेखि दुवईको जुमेरा ग्रुप नामक होटल तथा हस्पिटालिटी कम्पनीमा कार्यरत तिवारी विविध आरोहअवरोह र संघर्ष गर्दै दुवईमा जन्मेहुर्केको प्रख्यात पाँचतारे होटलमा एउटा डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यालय हाँकिरहेका रहेछन् । वार्षिक विदामा भर्खरै नेपाल गएर फर्किएका रहेछन् तिवारी । दुवईको व्यस्त आवासीय क्षेत्र मानिने अलखेल गेट कम्युनिटीमा बिजशाला पुग्नासाथ केही शारीरिक अस्वस्थताका बाबजुद पनि आफ्नो अनुभव सुनाउन तयार भईहाले । त्यसपछि हामीले उनलाई यसरी सुन्यौं र जस्ताको तस्तै तपाईमाझ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।

स्याङ्गजाको राजेन्द्र भवानी विद्यालयबाट निम्न माध्यमिक र वालिङ्गबाट जेटिएमा व्यवसायिक शिक्षा संकायमा एसएलसी सकेपछि उच्चशिक्षाका लागि राजधानी छिरेका रहेछन् यमानन्द तिवारी । समयमा एसएलसीको नजिता नपाउँदा रामपुर क्याम्पस चितवनमा कृषि अध्ययन गर्ने उनको ईच्छामा तुषारापात भएको रहेछ त्यसपछि व्यवस्थापनमा मन मोडेका रहेछन् । हुन त उनको विज्ञान पढ्ने धोको थियो रे, तर माध्यमिक तहमा ऐच्छिक गणित विषय नहुनाले विज्ञान पढ्न नपाएको तिवारीले सुनाए । 

मिनभवन क्याम्पसबाट आईकम सक्नेवित्तिकै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा २ पटक प्रतिस्पर्धा गरेछन् । लिखित र अन्य परीक्षामा राम्रो नम्बर ल्याएर अन्तवार्ता पुगेका थिए रे । माथिल्लो तहमा आफ्नो पहँुच नभएकै कारणले दुवैपटक असफल भएको अनुभव पनि तिवारीले सुनाउन बाँकी राखेनन् । वि.सं. २०४४ सालमा व्यवस्थापन संकायमै स्नातक सकेपछि १ वर्ष गाउँमै गएर माध्यमिक विद्यालयमा अध्यापन गर्न पुगेछन् । तर, उनको फौजी लाईनमा जागिर खाने रहर भने पुरानै रहेछ । त्यही भएर फेरि नेपाल प्रहरीको असिस्टेन्ट सव ईन्सपेक्टर(असई)मा प्रतिस्पर्धा गर्न पुगेछन् र राम्रो अँकका साथ सफल पनि भएछन् । 

देशमा भर्खरै बहुदलीय शासन सुरु हुँदा वि.सं. २०४७ मा उनी आफ्नो सानो कमाण्ड लिएर पर्वत तिर डुल्थे रे ।  जिल्ला प्रहरी कार्यालय पर्वतमा अपराध अनुसन्धान विभागमा काम गर्दा धेरै कुराहरु सिक्ने मौका पाएको तिवारीले बताए । पढाई व्यवस्थापनको, जागिर भने अपराध अनुसन्धानमा  कानुनको, पढाई र जागिरको तालमेल मिलाउन तिवारीले जागिर खाँदा खाँदै कानुन संकायमा स्नातक(बिएल) सकाएछन् । त्यसपछि डिग्रि चाहि  बिजिनेस एड्मिनिष्ट्रेसनमा । आफ्नो शैक्षिक योग्यतासँगै उपयुक्त भूमिकाको खोजी गर्न कहिल्यै नछाडेका रहेछन् यमानन्दले । आन्तरिक प्रतिस्पर्धाबाट २ पटकसम्म प्रहरी निरिक्षक(ईन्सपेक्टर)का लागि प्रतिस्पर्धा गरेको तर सफल हुन नसकेको पनि तिवारीले सुनाए । पर्वतबाट सरुवा भएपछि काठमाण्डौको हनुमानढोकामा अपराध अनुसन्धान महाशाखामै काम गरेका रहेछन् उनले । त्यसबखत अनुसन्धानका क्षेत्रमा थुप्रै ज्ञान हासिल गरेको अभिलेखहरु राख्ने,एड्मिनिष्ट्रेसन लगायत थुप्रै कुरा सिकेको उनले बताए ।  

तिवारीको भनाईमा जिन्दगी एउटा सिकाईको प्रक्रिया हो । उनी जहाँ–जहाँ गए, एउटा राम्रो छाप छोड्दै गएछन् र बल्ल सहायक ईन्सपेक्टर(सई)मा बढुवा भएछन् । बढुवा पछिको पोष्टिङ्गमा पुनः जिल्ला प्रहरी कार्यलय पर्वत नै पुगेका रहेछन् । त्यसपछि के भयो कुन भुतले छोयो उनले बताएनन् । तर उनलाई विदेश जाने रहर पलाएर आएछ । भन्नलाई उनी राज्यको पक्षपातपूर्ण नीतिका कारण विदेश हिँड्नुपर्ने अवस्था आएको बताउँछन् ।  पद त ठूलै हो उनको डिग्री गरेको मान्छे, नेपाल प्रहरीमा सईको जागिर अनि मुश्किलले २७ सय तलब । काठमाण्डौमा जुमेरा ग्रुप होटल दुवईको लागि अन्तर्वार्ता चलिरहेको रहेछ । त्यही अन्तर्वार्तामा सामेल भएछन् र सेक्युरिटी अफिसरका लागि छनौट भएछन् । हुँदा खाँदाको सरकारी जागिर चटक्कै छोडेर सन् १९९९ मा दुवई हानिएछन् । फ्रि भिषा फ्रि टिकट भएकोले मेनपावरलाई ५ हजार रुपैयाँ दिएर दुवई छिरेको तिवारीले बताए । त्यसबेला उनले काम गर्ने कम्पनीमा सेक्युरिटी अफिसरको तलब १२ सय दिराम अर्थात नेपाली २४ हजार रुपैयाँ बराबर रहेछ । 

दुबई छिरिसकेपछि तिवारीको संघर्षको कथा झनै चाखलाग्दो र रोमाञ्चक छ । पढाईमा डिग्री भएता पनि नेपालको शिक्षा प्रणाली कमजोर हुनाको कारण अन्तराष्ट्रिय भाषा अंग्रेजीको ज्ञानमा कमजोर रहेको साथै अंग्रेजी कमजोर भएकै कारणबाट सहकर्मी र विदेशी पाहुनासँग बेला बेलाको वार्तालापमा कठीन हुने गरेको विगत तिवारी आफैं स्वीकार गर्छन् । 

अझ कम्प्युटर सम्बन्धीको ज्ञानमा त झनै कमजोर थिए रे । आफ्नो व्यक्तिगत ईमेल एकाउण्ट बनाउन पनि तिवारीले दुवई आएरै सिकेका रहेछन् ।  होटलको जागिर, दिनँहु हजारौं पाहुनासँग ठोकिनुपर्छ, उनीहरुले सोधेको प्रश्नको जवाफ दिनुपर्छ, अंग्रेजी र कम्प्युटरको कमजोर ज्ञानले निकै दुःख भोग्नु परेको उनी बताउँछन् । सहकर्मी साथी र आफ्नो डिपार्टमेन्टका केही उच्च तहका कर्मचारीबाट केही कम्प्युटरको ज्ञान लिएर तिवारीले सन् २००३ तिर आफ्नो ३ महिनाको तलव जम्मै हालेर कोठामै कम्प्युटर किनेका थिए रे । त्यत्रो रकम खर्च गरेर कम्प्युटर किनेको भनेर तिवारीले त्यहिबेला साथीभाईबाट निकै क्रिया प्रतिक्रिया सहनुपरेको थियो रे । सिकाईको तीव्र ईच्छा भएका कारण कम्प्युटर किनेर ल्याएपछि विहान बेलुका र छुट्टिको समय नयाँ नयाँ कुरा सिकेर बिताएको सुनाउन उनी कत्ति पनि हिच्किचाएनन् । 

छुट्टिको बेला टाढा बरदुवईसम्म पुगेर ईन्टरनेटका समाचार फ्लपी डिक्समा हालेर बेलुका कोठामा साथीहरुलाई देखाउँदा र सुनाउँदाको रोमाञ्चक क्षण उनी अझै सम्झन्छन्  । त्यतिबेला सूचना प्रविधिको लोभलाग्दो विकाससँगै विश्व हुर्किरहेको थियो र तिवारीको ईच्छा पनि त्यत्तिकै हुर्किएछ सूचना प्रविधिमा ।  कम्पनीको एउटा डिपार्टमेन्टमा काम गर्ने कर्मचारीले अर्को आफूले चाहेको डिपार्टमेन्टमा तालिम लिन पाउने कम्पनीको सुविधालाई सदुपयोग गर्दै कम्पनीकै ईन्टरनेट क्याफेमा सूचना प्रविधि(आईटि)को क्रसट्रेनिङ्ग गर्ने अवसर पाएछन् तिवारीले । त्यतिबेला उनको काम भने सेक्युरिटि अफिसरकै थियो रे । दैनिक ८ घण्टा काम, त्यसबाट बचेको समय तालिम अनि बेल्ुका घरमा आएर दिनभरि सिकेको कम्प्युटरको ज्ञान आफ्नै कोठामा दोहोराउँथे रे उनी । 

उनको सिकाई प्रक्रिया यसरी नै अघि बढेको रहेछ । यसै क्रममा व्यवसायिक ईन्स्टिच्युडमा गएर १ महिनाको माइक्रोसफ्ट विण्डोको तालिम पनि लिएछन् । यससँगै उनको अंग्रेजीको ज्ञान निख्रदै आयो भने कम्प्युटरको ज्ञान पनि बढ्दै गएछ, त्यही भएर उनले क्रस टे«निङ्ग गरेकै ठाउँमा जागिर पाएछन् । आफ्नो रुचि अनुसारको काम पाएकोमा खुशी त भएछन् तर उनको खुशी लामो समय टिक्न सकेनछ । कम्पनीले चलाएको ईन्टरनेट क्याफे सप्लाई कम्पनीलाई दिने भएछ र उनलाई जागिर खोज्न भनिएछ । तर खारिएको ट्यालेन्ट देखाएर सोही कम्पनीमा ४ वटा अफर एकैचोटि हात पारेको सुखद अनुभुति पनि छ तिवारीसँग । 

विभिन्न क्षेत्रबाट आएका अफर मध्ये उनले रोजेछन् आईटि अर्थात सूचना प्रविधिकै क्षेत्र र जिम्मेवारी पाएछन् आईटि स्पेसलिस्ट अर्थात सूचना प्रविधि विज्ञको । र, एक हिसावले सफलताको खुड्किलो चढेको अनुभूति भएछ उनलाई । 

कामकै सिलसिलामा एमएससिई भनिने माइक्रोसफ्ट सर्टिफाइड सफ्टवेयर ईञ्जिनियरको कोर्ष पनि सकाएछन् र प्रमाणित सूचना प्रविधि अधिकारी भएछन् । एक नेपाली युवा जो आज सोही जुमेरा ग्रुप होटलको रेसिडेण्टल अपार्टमेन्टमा असिस्टेन्ट आईटि म्यानेजर हुन् । कम्पनीले दिएको पदले असिस्टेन्ट म्यानेजर भए पनि उनलाई एउटा डिपार्टमेन्ट पूुरै हेर्ने जिम्मेवारी दिइएको छ  । उनी होटलको आइटी डिपार्टमेन्टका हेड अर्थात प्रमुख अधिकारी हुन् । उनकै निर्देशन र निगरानीमा होटलको सम्पूर्ण सूचना प्रविधि चल्ने गर्छ । 

विश्व प्रसिद्घ होटलको सेन्ट्रल आईटि हेल्पडेक्समा समेत बसेर काम गरेका तिवारीको दैनिक कार्यसूचि निकै लामो छ । कम्प्युटर सिस्टमको सामान्य लगईन इरर देखि लिएर दैनिक होटल अपरेसनमा सम्पूर्ण प्रविधिको प्रतिनिधित्व जनाउनुपर्छ भने सफ्टवेयर ईम्प्लिमेन्टदेखि लिएर होटलको सम्पूर्ण डाटाको सुरक्षा गर्नु पनि तिवारीको जिम्मेवारी भित्रै पर्छ । 

समस्यालाई चुनौतीसँग दाँज्ने तिवारी जिन्दगीको ५२ औं बसन्तमा पनि उत्तिकै उर्जावान र सिर्जनशील देखिनछन् । देश छोडेर रोजगारका लागि खाडी छिरेका लाखौं नेपालीका शान हुन यमानन्द, जो देशमा उच्चशिक्षा हासिल गरेर पनि अन्य शिक्षित अर्धशिक्षित नेपाली झै खाडीमा संघर्ष गरे र आज एउटा माथिल्लो तहमा पुगेर परिश्रम र लगाव राखे सफल बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । 

हामी थुप्रै नेपालीका लागि उनी एक सफल व्यक्ति हुन्, तर उनी आफैं भने आफूलाई सफल मान्दैनन् । भन्छन्–“गर्न सकिने धेरै कुराहरु थिए, पढाईको बाटोे एउटा र रोजगारको अर्को भयो । दुवैको पाटो एउटै भएको भए राम्रो गर्न सकिन्थ्यो होला ।” 

सुरुमा खुड्किला चढ्न अंग्रेजी भाषाको ज्ञान नहुनुलाई आफ्नो कमजोरी ठानेका उनलाई अहिलेसम्म पनि आफू अंग्रेजीमा कम दख्खल भएको महशुस हुन्छ । तिवारी यो अवस्थासम्म आउन उनकी धर्मपत्नी सिमा तिवारीको योगदान पनि उत्तिकै रहेको उनले सुनाए । 

जिन्दगीका ५ बसन्त यो युगल जोडी दुवईमा सँगै सघर्ष गर्दै बसेको रहेछ । सो अवधिमा जिन्दगीलाई कुन मोडतर्फ लाने भन्ने कुराको सही निर्णय लिन सिमाको धेरै हात रहेको तिवारीले बताए । हाल सिमा भने बालबच्चाको साथमा आफ्नै पाट्नरसिपमा काठमाण्डौमा चलाएको सहकारीमा काम गर्दि रहिछन् । 

 सूचना प्रविधिका विज्ञ भएको नाताले हाहीले उनलाई नेपालमा स्मार्ट सिटिको सम्भावनाका बारेमा सोध्यौं । बिजशालाको यो प्रश्नमा उनले नेपालमा स्मार्ट सिटिका लागि भौतिक पूर्वाधार नभएको बताए । भने–“स्मार्ट सिटि भनेको अति धेरै विकसित शहर हो, जहाँ जसलाई जे चाहियो त्यहि चिज उपलव्ध हुन्छ । हाम्रो देशमा दक्ष जनशक्ति प्रशस्त छ, त्यसलाई चिनेर उपयुक्त पहिचानसहित सदुपयोग गर्ने हो भने असम्भव भने छैन ।” 

देशका विभिन्न क्षेत्रमा अनलाईन प्रविधिहरु भित्रिदै गएकाले नेपालमा पनि स्मार्टनेश सम्भव भएको उनको बुझाई छ । देशमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद, अपारदर्शिता जस्ताको कारणले देश अझसम्म पनि गरिब रहेको तिवारी सुनाउँछन् । दुवईमा भएको विकासको उदाहरण दिँदै उनी भन्छन्–“यहाँ नियम कानुन कडा छ र सबैमा लागू हुन्छ, सबै आफ्नो काममा जिम्मेवार छन् । त्यही भएर यहाँ तीव्र विकास सम्भव भयो, यही हिसाबले गर्ने हो भने हाम्रो देशमा पनि सम्भव छ।” 

युवा जनशक्तिलाई देशमै प्रशस्त अबसरका बाटाहरु भएकोले विदेश नजानु भन्ने तिवारी कृषिक्षेत्रमा अथाह अवसर भएको दाबी गर्छन् । “अहिलेको अवस्थामा विदेश आउँदै नआउनुहोस्, देशमै कृषिका क्षेत्रमा थुप्रै अवसरहरु छन् । यहि आउनु नै पर्ने अवस्था आए अन्तराष्ट्रिय स्तरको सिप सिकेर मात्र आउनुहोस्, नेपालको गाउँले सिपले विदेशमा प्रतिस्पर्धा गर्न धेरै गाह्रो हुन्छ ।” विदेश भनेपछि मरिहत्ते गर्ने नेपाली युवालाई उनले सुझाव दिए ।

खाडीमा काम गरिरहेका नेपाली कामदारहरु इमानदार र मेहेनती भएता पनि कामको समयभन्दा बाहिरको समयको सदुपयोग नगर्दा तथा सिकाईमा ध्यान नदिँदा पदोन्नती हुन नसकेको औल्याउने तिवारी सिकाईको प्रक्रिया नरोक्न सल्लाह दिन्छन् । झण्डै २ दशकको दुवई बसाईमा पनि यहाँका सामाजिक संस्थाबाट टाढा रहेका तिवारी समाजसेवा गर्न संस्थामै आवद्घ हुनुपर्छ भन्ने कुराका विरोधी रहेछन् । 

हुन त समय अभावका कारण सामाजिक सँस्थामा लाग्नेबारे सोच्ने नभ्याएको बताउने तिवारी आफूलाई बेलामा गाइड गर्ने कोही नहुँदा लामो समय लक्ष्यमा पुग्न नसकेको बताए । यमानन्दले अहिले आफ्नो गाइडलाइनमा भने थुप्रै नेपालीलाई माथिल्लो तहमा पुर्याउन सहयोग गरेका छन् । आफूसँग सिक्न चाहानेहरुलाई तिवारीले अभिभावकीय भूमिका मात्र हैन, सूचना प्रविधि र अन्य जानकारी भएका क्षेत्रमा पनि थुपै्र ज्ञान बाँडेको हामीले देख्यौं । भावी योजनाका बारेमा सोधिएको प्रश्नमा उनले केही बर्षमा दुवईको बसाई अन्त गर्ने र नेपालमा आफ्नै पार्टनरसिपमा रहेको कलेजमा समय बिताउने खुलासा गरे ।