काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फिति ४.१ प्रतिशत पुगेको छ । यो गत वर्षको यही अवधिको तुलनामा बढी हो । 

नेपाल राष्ट्रबैंकले खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति बढ्न गएको प्रष्टीकरण दिएको छ । 

खाद्य मुद्रास्फीति
२०७५ जेठ मसान्तमा खाद्य मुद्रास्फीति ३.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति १.० प्रतिशतले ऋणात्मक रहेको थियो। 

गत वर्षको तुलनामा मूलतः तरकारी, फलफूल, घ्यु तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा लगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति
समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको शिक्षा, लत्ता कपडा तथा जुत्ता, फर्निचर तथा घरायसी उपकरण र घरायसी सामान लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.४ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, तराईमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा १.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.१ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत रहेको थियो ।