काठमाण्डौ । नेप्सेको वेबसाइट बिग्रिएर सर्वसाधारणले सुरुवातदेखि नै बजारको गतिविधि नियाल्न नपाएको दिन बुधबार नेप्से परिसूचक ५.५४ अंकले घटेर ११९८.७७ को विन्दूमा सीमित बन्न पुगेको छ । 

यो दिन मंगलबारको तुलनामा कारोबार रकम पनि घटेर १७ करोडमा झरेको छ । बजार परिसूचक र कारोबार रकम समानान्तर रुपले घट्दै जानु भविष्यका लागि राम्रो संकेत होइन । 

नेपाल स्टक एक्सचेञ्ज अनलाइन कारोबार प्रणालीलाई चाँडो भन्दा चाँडो कार्यान्वयनमा ल्याउने काममा लाग्न छाडेर सीइओको लफडामा फसेपछि लगानीकर्ताको मनोबल थप गिरेको देखिएको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणप्रति समेत लगानीकर्ता खासै सकारात्मक देखिएका छैनन् । यी सबै कारणले गर्दा नेप्से नयाँ आर्थिक वर्षको दोश्रो दिन समेत घटेको छ । यो दिन मंगलबार भन्दा बजार बढी राताम्मे भएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.२४ अंकले घटेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४३ अंकको गिरावट देखिएको छ ।

यो दिन बित्त समूहमा ०.७६ अंकको झिनो बढोत्तरी भयो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह २.४७ अंकले घट्यो भने विकास बैंक, माइक्रोफाइनान्स, जीवन बिमा र निर्जीवन बिमा समूहमा क्रमशः ९.७२ अंक, १५.९२, ६७.६५ र ६१.६१ अंकको गिरावट आयो । 

यो दिन व्यापार समूह २.७९ अंकले घट्यो भने जलविद्युत समूह १४.४१ अंक, उत्पादनमूलक २.०४ अंक तथा अन्य समूह १.३८ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ३९ कम्पनीका ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी नवील बैंकले २ करोड ५६ लाख बढीको कारोबार गर्यो । नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ३१ लाख बढीको कारोबार गरेको यो दिन सिटिजन्स बैंकले ८२ लाख, इन्भेष्टमेन्ट बैंकले ७२ लाख बढीको कारोबार गरे । प्रभू बैंकको ६१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ५२ लाख, गरिमा विकास बैंकले ४२ लाख बढीको कारोबार गर्यो । नवील बैंकको ४१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रिमियर इन्स्योरेन्सले ३९ लाख र एनएमबी बैंकले ३८ लाखको हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.६६ प्रतिशतले घट्यो ।