काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८(Euromoney excellence - Best Bank Nepal 2018) अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । 

प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले आज (साउन २ गते), हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको हो । नेपालइन्भेष्टमेण्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो । 

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान गरिन्छ  । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए । 

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटिएम छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

एस डेभलपमेण्ट बैंकको प्राप्तिपश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको आर्थिक वर्ष २०७४–७५ को तेस्रो त्रैमाससम्ममा चुक्तापूँजी रु.१०.६५ अर्ब पुगेको छ भने बैंकको प्राथमिक पूँजी रु.२०.९४ अर्ब पुगेको छ  । त्यसैगरी, बैंकले रु १३०.२ अर्ब निक्षेप संकलन गरी रु ११८.८ अर्ब कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकले रु २.८४ अर्ब खुद नाफा गर्न सफल भएको छ ।  तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७६ प्रतिशतमा सीमित पारेको छ ।