-भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले सेयर लगानीकर्ताहरुलाई दशैं उपहारको रुपमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली दिने भएको छ । 

नेप्सेका आइटी प्रमुख निरञ्जनसिंह नायकले बिजशालासँग कुरा गर्दै दशैं अगाडिबाट पूर्ण अनलाइन कारोबार प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको बिजशालासँग बताएका हुन् । 

बिजशालासँग कुरा गर्दै नायकले भने–‘हामी लगानीकर्ताहरुलाई दशैंको उपहारको रुपमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मजबुत रुप दिन आतुर छौ । सोही उद्देश्यअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।’ 

उनका अनुसार साउन ६ गतेसम्म सबै(५० वटा) सदस्य दलाल व्यवसायीहरुको प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टमसँग अन्तरआबद्धता स्थापना भइसकेको छ । अब सबै लगानीकर्ताले आफू आबद्ध दलाल व्यवसायीसँग केवाइसी अद्यावधिक गराउने काम गर्नुपर्छ ।’ उनले भने–‘यूजर नेम र पासवर्ड लिई नयाँ नेप्से अनलाइन ट्रेडिङ सिस्टमसँग जोडिन समेत हामीले सार्वजनिक रुपमै आह्वान गरिसकेका छौ ।’ 

यूजर नेम र पासवर्डबाट प्रयोगकर्ताले सदस्य दलालले हाल कार्यान्वयनमा रहेको कारोबार प्रणालीमा प्रविष्ट गरेको आदेश र म्याचिङ भएको आफ्नो कारोबार विवरण मात्र हेर्न सक्नेछन् । 

नायकले पूर्ण अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयनसँगै बजारमा कारोबार संख्या, रकमको बढोत्तरी हुने र यो प्रणाली आएपछि बजारमा हुने चलखेल समेत नहुने दाबी गरे । 

‘लगानीकर्ताले पूर्ण अनलाइन सिस्टम कार्यान्वयनपछि पनि ब्रोकरकोमा गएर २ वटा अप्सनमध्ये एउटा छान्नुपर्ने हुन्छ कि अनलाइन कि त अफलाइन ।’ उनले भने–‘एउटा ब्रोकरकोमा एउटा मात्र सेवा छान्नुपर्ने हुन्छ ।’

उनका अनुसार अनलाइनमा मार्केट डेप्थको फिचर हुनुका साथै डाटा माइग्रेट पनि हुने थप सुविधा हुनेछ । म्याचिङ नहुञ्जेल इन्भेष्टरले स्वयम् इडिट पनि गर्न मिल्ने हुँदा दुर्घटनाको सम्भावना पनि कम हुनेछ । 

‘नीति बनेर आए कारोबारमा ठूलो भोल्युम भए ५ प्रतिशतको फ्लक्चुएट राख्न सिस्टम बनाउन सकिन्छ ।’–राजनसिंह नायकले भने ।

यो प्रणालीमा टिक प्राइसमा ०.५० भन्दा मुनि पनि अर्डर प्राइस राख्न मिल्नेछ ।

हाल चलिरहेको सिस्टममा ब्रोकरहरुले ग्राफिकल इन्टरप्रिटेसन मात्र भएको प्रति उनीहरुको गुनासोलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय स्तरको प्रविधिमा विशेष फोकस भएको उनको भनाई छ । 

उनका अनुसार डाटा सेन्टरमा निरन्तर सुधार गर्दै त्यहाँ छुट्टै ४ वटा हार्डवेयर राखिनेछ । 

अनलाईन प्रणालीमा हाल सिस्टम जडानमा केन्द्रित नेप्सेले आगामी दिनमा भिडियो बनाउने, युजर म्यानुअल स्टेपवाइजसँग राखिने र हेल्प अप्सन पनि राखिने छ । विशेष समूह र पार्टीसँग मिली पूर्ण अनलाइन कारोबार प्रणालीको बिषयमा सचेतना जगाउने अभियान संचालन गर्नुपर्नेमा समेत उनको जोड छ ।