काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ । यो फाइनान्स कम्पनीले अघिल्लो वर्ष ६ करोड  ४२ लाखमा सीमित खूद नाफालाई बढाएर ९ करोड ७० लाखको उचाई चुमाएको छ । यो भनेको करिब ५१ प्रतिशतको प्रगति हो । 

फाइनान्सले १८ करोड ९६ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर २४ करोड ५० लाखको उचाई चुमाएको छ भने ९ करोड ९१ लाखमा सीमित संचालन नाफामा वृद्धि गरी १२ करोड ६३ लाख पुर्याएको छ । 

समीक्षा अवधिमा मञ्जुश्रीले ६ अर्ब ७ करोड निक्षेप संकलन गरी ५ अर्ब १८ करोड बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ५८ करोड निक्षेप संकलन गरी ३ अर्ब ७० करोड कर्जा परिचालन गरेको थियो । निक्षेप संकलनतर्फ कम्पनीले ६९.४५ प्रतिशतको फड्को मारेको देखिएको छ । 

अघिल्लो वर्ष ९ करोड ७७ लाखमा सीमित रिजर्बमा व्यापक वृद्धि गरी १३ करोड ६० लाखको बनाएको छ भने १.९८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर २.११ प्रतिशत पुगेको छ । 

यो अवधिमा मञ्जुश्रीको प्रतिसेयर आम्दानी १२.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.७ गुणा कायम भएको छ ।