काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले गुल्मी जिल्ला, गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा आफ्नो सत्रौं शाखारहित बैंकिङ्ग सेवा श्रावण २३ गतेबाट संचालनमा ल्याएको छ । 

बैंकले गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीले गरे । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकको भनाई छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।