काठमाण्डौ । गैरआवासीय नेपालीहरुलाई समेत सेयर बजारमा लगानी गर्ने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै नेपाल पूँजीबजार लगानीकर्ता संघको एक प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेको छ । 

संघका अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले साउन २६ गते परराष्टमन्त्री ज्ञवालीसँग भेट गरी सेयर बजार बिस्तारसँग सम्बन्धित ३ बुँदे माग राखी सो कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको हो । 

मन्त्री ज्ञवाली केपी ओली निकटका मन्त्री मानिन्छन् । सरकार गठनको सुरुवातमा अर्थमन्त्रीमा ज्ञवालीलाई नियुक्त गरिने बताइए पनि अन्तिम अवस्थामा डा. युवराज खतिवडालाई पक्षमा पासा पल्टिएको थियो ।

लगानीकर्ताहरुले सरकारले सेयर बजारप्रति गरेको बेवास्ताले दैनिक अर्बको कारोबार हुने बजार केही करोडमा सीमित भएको, बजारको समस्या बेलैमा सम्बोधन नभए एफपीओ र आइपीओ बिक्री नहुने अवस्था सिर्जना हुनसक्ने र यसले सरकारको स्वदेशी जनताको पूँजी परिचालन गरी देश समृद्ध बनाउने कार्ययोजना नै प्रभावित हुने सो क्रममा बताएका थिए । 

संघका अधिकारीहरुले न्यून सेयर कारोबारका कारण राज्यले समेत करोडौं राजश्व गुमाइरहेको, साना तथा निम्न वर्गीय लगानीकर्ताहरुको बिचल्ली भएको र मारवाडी समुदायबाट पूँजी पलायन भइरहेको अवस्थातर्फ गम्भीर बनिदिन आग्रह समेत गरेका छन्। 

संघले नेपाल स्टक एक्सचेञ्जले पटक पटक पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको नाममा लगानीकर्तालाई ढाट्दै र झुक्याउँदै आएकोले विदेशमा बस्ने नेपालीले समेत लगानी गर्न पाउने प्रणालीको शीघ्र कार्यान्वयनका लागि सरकारबाट प्रभावकारी पहल गरिदिन समेत मन्त्री ज्ञवालीसँग अनुरोध गरेका छन् । 

मन्त्री ज्ञवालीले एनआरएनहरुलाई नागरिकता दिने काम अन्तिम चरणमा रहेको उल्लेख गर्दै त्यो काम सकेपछि उनीहरुले समेत सेयर बजारमा लगानी गर्ने बाटो खुल्ने बताएका संघका उपाध्यक्ष राजु पौडेलले जानकारी दिए ।