काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अब लगानीकर्ताले चाहेनन् भने पनि सेयर बजार बढ्ने दाबी गरेका छन् । 

नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले बजार निरन्तर घटिरहे आफूहरु चूप लागेर नबस्ने र अब लगानीकर्ताले नबढोस् भन्ने चाहे भने पनि बजार बढ्ने जिकिर गरेका हुन् । 

‘आर्थिक विकास र गतिविधिमा अभूतपूर्व उत्साह महसुस गरिएको छ । अब बजार बढ्छ बढ्छ, नबढी धरै छैन ।’ उनले निकै आत्मविश्वासका साथ भने–‘विदेशी र आन्तरिक लगानीकर्तालाई निर्धक्क साथ लगानीको वातावरण बनाउन तथा विश्वास दिलाउन समेत अब सेयर बजार बढ्नैपर्छ ।’ 

उनले बजार निरन्तर घटाउने खेल भएको तर्फ संकेत गर्दै चेतावनीको शैलीमा अगाडि भने–‘बजार यसैगरी घटिरहे हामी(नियामक) चूप लागेर बस्दैनौ ।’ 

उनले पूँजीबजारमा सामान्य घाटा लाग्ने भए पनि दीर्घकालमा यसले निकै ठूलो रिटर्न दिनेतर्फ लगानीकर्तालाई सचेत गराउँदै भने–‘पूँजीबजार जूवा होइन । यहाँ तपाईले १०० रुपैयाँ लगानी गर्दा सुरुमा ५० पैसा मात्र रिटर्न आउला । तर, त्यही ५० पैसा बढेर १ हजारसम्म कमाउने ठाउँ हो पूँजीबजार । आर्थिक विकासको पूर्वाधार हो पूँजीबजार ।’ 

उनले सेयरमा लगानी गर्नेहरुको भविष्य निकै उज्वल रहेको दाबी गर्दै भने–‘तपाई लगानी गर्दै जानुहोस् । क्षणिक रुपमा हरेस नखानुहोस्, सेयरमा गरिएको लगानीले तपाईलाई लाभ दिन्छ दिन्छ ।’ 

गभर्नर नेपालले मुद्रास्फिति र आर्थिक वृद्धिदरको विगत २ आर्थिक वर्षको ट्रेण्ड हेर्दा अर्थतन्त्र स्थायीत्वतर्फ उन्मुख भइरहेको देखिएको दाबी गर्दै सेयर कारोबार काठमाण्डौ केन्द्रीत भएका कारण मात्र आजको अवस्था आएको समेत बताए । 

अधिकांश लगानीकर्ताले बुझ्दै नबुझी र अर्काको उक्साहटमा आई वा सल्लाह मानेर लगानी गर्ने गरेका उल्लेख गर्दै थपे–‘तपाईले लगानीको कला सिक्नुपर्छ । आफूसँग भएको पैसा व्यवस्थापनको कला समेत सिक्नुपर्छ । सुनेर होइन, जानेर लगानी गर्न सक्नुपर्छ । पूँजीबजारको लगानी निकै संवेदनशील कुरा हो, यसमा खेलाँची नगर्र्नू ।’

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत तरलताको सहजता र ब्याजदरको स्थायीत्वमा विशेष जोड दिएको उल्लेख गर्दै उनले अब लगानीकर्ताले नबढोस् भने पनि बजार बढ्ने दोहोर्याइरहे । ‘बजारमा यथेष्ट तरलता भएको अवस्था, ब्याजदर क्रमशः नियन्त्रित हुँदैछ ।’ उनले थपे –‘भोलिको दिनमा बजार बढ्छ, बढ्नैपर्छ ।’