काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कृत्रिम खेल खेलेर पूँजीबजार ध्वस्त बनाउने र सोझा लगानीकर्तालाई बेहाल पार्ने काम भएको दाबी गरेका छन् । 

नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका उनले बजारमा घटबढको कृत्रिम खेल व्याप्त रहेको आफूले सुनेको, बुझेको बताएका हुन् । 

‘पूँजीबजारमा पूर्ण आश्रित सोझा लगानीकर्तालाई डूबाउने खेल भइरहेको कुरा सुनेको छु ।’ उनले भने–‘यहीकारण बजारप्रति लगानीकर्ताको औधी चिन्ता र उत्साहमा कमी पाएँ । सम्बद्ध निकायले अविलम्ब निकास खोज्न आवश्यक देखेको छु ।’ 

उनले लगानीकर्ताका नेताबाट आफूले बजार निरन्तर घटेर चुर्लुम्म भएकै कारण २ लगानीकर्ताले आत्महत्या गरेका दुःखद खबर सुनेको उल्लेख गर्दै बजारको भयावह अवस्थालाई सामान्य रुपमा लिन नहुने सुझाए । तर, कसले र कहाँ आत्महत्या गर्यो भन्ने कुरा उनले खुलाएनन् ।  

सम्बोधनको सुरुवातमै आफूलाई आयोजकले रुद्राक्षको माला लगाइदिएको सन्दर्भलाई उठाएका उनले सो क्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत घुमाउरो ढंगले कटाक्ष हान्न भ्याए । ‘बजार धेरै बोलेर बिग्रिएर भनेर तपाईहरुले प्रतिकात्मक रुपमा मलाई यो रुद्राक्षको माला लगाइदिनुभएको होला ।’ उनले भने–‘रुद्राक्षको माला ध्यान, धैर्यता र शालीनताको प्रतिक पनि हो । धेरै बोलेकै कारण बजार बिग्रिएको पाएको छु ।’ 

उनले सरकारले देखेको समृद्धिको सपना पूरा गर्नलाई समेत पूँजीबजारको बिस्तार र विकास अनिवार्य रहेको बताए । 

उनले पटक–पटक बजारमा चलखेल भएको प्रसंगलाई उठाएका थिए । कतिपय कम्पनीहरुले कृत्रिम नाफा देखाएर समेत कुस्त पैसा कमाएका उनको दाबी थियो । 

बजार अत्यासलाग्दो गरी घटेको बिषयलाई उदाहरणको रुपमा पेश गर्दै उनले थपे–‘आजै मात्र लगानीकर्तालाई सोध्दा पो थाहा भयो, स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य अत्यासलाग्दो गरी घटेर न्यून विन्दूमा आएको रहेछ । बजारको अवस्था त नपत्याउँदो गरी भयावह बनिरहेको रहेछ ।’ 

उनले राज्यले समयमै पैसा खर्च नगरिदिने प्रवृतिले समयमै प्रणालीमा पैसा नआएको र त्यसले लगानीकर्ताले सस्तोमा लगानीयोग्य पूँजी नपाएकोमा चिन्ता व्यक्त गरे । 

उनले नेपालमा अनौपचारिक अर्थतन्त्र फस्टाएको र चरम भ्रष्टाचारका कारण मुलुकभित्र रहेको पैसा समेत औपचारिक च्यानलमा नआएको दाबी गरे । ‘भ्रष्टाचार गरी कमाएको अरबौं रकम खाल्डामुनि पुरेर राखेको छ कि कहाँ राखेको छ, अब राज्यले खोज्न थाल्नुपर्छ ।’ उनले भने–‘गैरकानूनी आर्थिक कारोबारलाई निमिट्यान्न पार्ने नीति लिनुपर्छ।’ 

नेपालको बजार किन लुते ?


सोही कार्यक्रममा बोल्दै लगानीकर्ता तथा विश्लेषक नवराज घिमिरेले सोमालियाको खान नपाएको लूरे बालकजस्तै हाल सेयर बजारको हाल रहेको सुनाए । ‘हामी लगानीकर्ता नूनिलो आँसुको ढिक्का पिउँदै बसेका छौ ।’ उनले भने–‘हाम्रो बजारलाई सुकेनाश लाग्यो, यसको कारण खोजी हुनुपर्छ ।’ 

नेपाल बैंकको एफपीओ बिक्री हुन नसकेको हालसालैको घटनाको प्रसंग कोट्याउँदै घिमिरले यस्तै अवस्था रहे आइपीओ पनि बिक्री हुन छाड्ने दाबी गरे । 

उनले बजारको विकासका लागि बढ्दो बैंक ब्याजदर घटाउने शीघ्र पहल हुनुपर्ने, गैरआवासीय नेपालीलाई समेत लगानी गर्नसक्ने व्यवस्थातर्फ पहल हुनुपर्ने, नागरिक लगानीकोषलाई मार्केट मेकरमा रुपमा भित्र्याउनुपर्ने लगायतका माग राखेका थिए । 

सो क्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, सिडिएससीका सीइओ देवप्रकाश गुप्ता, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, उपाध्यक्ष राजु पौडेल, इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार लगायतले पनि बोलेका थिए ।