काठमाण्डौं । ‘नेपालमै बसेर सबथोक गर्न सकिन्छ । बाहिर गएर पनि एमसीटी गर्ने त हो नि अर्थात मस्काउने, चम्काउने र टल्काउने । नेपालमा नै पढौं नेपालमा नै इज्जत पाइन्छ ।’–काठमाण्डौं, मूलपानी बस्ने दीपक लामिछानेको भनाई हो यो । थोरै पैसामा राम्रा कलेज पढ्न पाइन्छ या पाइन्न भन्ने जानकारी लिन होटल अन्नपूर्णमा शुक्रबार सुरु भएको शैक्षिक मेलामा भेटिएका लामिछानेल सो कुरा बताएका हुन् ।

भिजन मिडिया र एजुकेशन डटकमको मूख्य आयोजनामा भाद्र १ देखि २ गतेसम्म संचालन हुने गरी होटल अन्नपूर्णमा Study in Nepal,Higher Education Fair सुरु भएको छ । जहाँ ४० भन्दा बढी अन्तराष्ट्रियस्तरका कलेजहरुका स्टल राखिएका छन् । 

नेपाली कलेजहरुबाट समेत अन्तराष्ट्रिय स्तरको जनशक्ति तयार गर्न, अवसर हत्याउन भन्दा अवसर सिर्जना गर्ने किसिमका विद्यार्थी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक जीवन लामा गोलेले बताएका छन् ।

शैक्षिक मेलाको यो चौथो संस्करण हो । मेलामा गतवर्ष ५ हजार ७ सय विद्यार्थीले अवलोकन गरेका थिए । यसपटक ८ हजार भन्दा बढी विद्यार्थी आउने आयोजकको अपेक्षा छ ।

स्थिर सरकार बनेको र अबको १० वर्षपछि राम्रो अवसर आउने र अहिले पढ्न थाल्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै एफडीआई, मल्टीनेसनल कम्पनीहरुको प्रवेशसँगै अवसरको ओइरो लाग्ने भएकाले उक्त मेला आयोजना गर्नुपरेको आयोजकले बिजशालासँग भने ।

मेलामा शंकरदेव कलेज र नेपाल माउन्टेन एकेडेमीको लगायत ४० बढी कलेज र आईटी ट्रेनिङ्ग सेन्टरहरुको स्टल मेलामा रहेको छ । काठमाण्डौ फन पार्क , बीएसआर मूभिज, क्यू सिनेमाका प्रत्येकबाट सय÷सय टिकट लक्की ड्रमार्फत दिइने मेलाको थप आकर्षण रहेको छ भने एनटीसीले सित्तैमा रिचार्जसहितको सिम प्रदान गर्नेछ भने एनआईसी एसिया बैंकको स्टल पनि रहेको छ ।

कलेजको भर्ना प्रक्रिया, फी स्ट्रक्चर लगायतका जानकारी मेलामा दिइरहेको आयोजकले बताएको छ । इन्सिलिकंटन कलेजका मार्केटिङ्ग एक्सक्यूटिभ निखिलराज श्रेष्ठले बेलायतको डिग्री नेपालमै पहिलोपल्ट भित्र्याएको दाबी गर्दै पढेकालाई इन्डष्ट्री लिडर बनाउने आफूहरुको एकमात्र लक्ष्य रहेको जानकारी दिए ।

हेटौंडाकी रस्मिता दंगाल पनि एकै ठाउँमा सम्पूर्ण कलेजहरुको जानकारी लिन सहज भएकाले फेयरमा आएको बताईन् । त्यसैगरी लमजुङ्गबाट फेयरमा आएका निश्चल थापा भन्छन्–‘कलेजका प्रडक्टबारे जानकारी लिन र भर्ना भई यहीँ पढेर राष्ट्रका निम्ति यही केही गर्ने उद्देश्य राखेर मेला अवलोकनमा आएको हुँ ।’