काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णुकुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । 

सम्झौता अनुसार सिरहा समाज सेवासँग समन्वय गरी नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा विभिन्न स्थानमा फैलिएका नेपालीहरुलाई स्वदेशी अस्पतालको सेवासुविधामा सहभागी गराउने उद्देश्यमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए । 

त्यस्तै सिरहा समाजका अध्यक्ष साहले मेडिसिटीसँग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सिरहावासीहरुले नेपाल मेडिसिटी अस्पतालको नगदरहित स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई सुलभ उपचार प्राप्त गर्न सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखी बीमा कार्यक्रममा आबद्ध हुनसक्ने सो अवसरमा जानकारी गराइएको छ ।