काठमाण्डौ । सरकारको चालु खाता घाटा अत्यासलाग्दो गरी बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा चालु खाता घाटा २४५ अर्ब २२ करोड रुपैयाँको अत्यासलाग्दो विन्दूमा पुगेको हो । 

अघिल्लो वर्ष यस्तो घाटा १० अर्ब १३ करोड मात्र थियो । 

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामाग्री लगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा रहेको नेपाल राष्टबैंकले मंगलबार सार्वजनिक गरेको वार्षिक आर्थिक तथा वित्तीय स्थितिको समीक्षमा जनाइएको छ । 

त्यसैगरी, अघिल्लो वर्ष रु.८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा वर्षमा रु.९६ करोडले बचतमा रहेको छ । 

समीक्षा वर्षमा पूँजीगत ट्रान्सफर रु.१७ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो आप्रवाह रु.१३ अर्ब ३६ करोड रहेको थियो । 

समीक्षा वर्षमा रु.१७ अर्ब ५१ करोडको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह रु.१३ अर्ब ५० करोड रहेको थियो ।

समीक्षा वर्षमा भएको वैदेशिक लगानी आप्रवाहको अधिकांश हिस्सा उर्जा, सिमेन्ट, होटल लगायतका उद्योगहरुमा भएको बताइएको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको रु.१०७९ अर्ब ४३ करोडबाट २.१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु.९२७ अर्ब २७ करोडको तुलनामा २०७५ असार मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई रु.९८९ अर्ब ४० करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.८ प्रतिशत रहेको छ ।