काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा भदौ ६ गते काठमाडौं महानगरपालिका वडा नं १०, मध्यबानेश्वर स्थित बानेश्वर शाखाकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । 

सो शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रीमान शिवराज श्रेष्ठले दीप प्रज्वलनका साथ गरेका थिए । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक राजेशकुमार रौनियार पनि सहभागिता थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । 

साथै उनले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब निक्षेप संकलन गरी रु. २१ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।