सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियाले दुई चिनियाँ टेलिकम कम्पनीहरूबाट फाइभजी मोबाइल सञ्जालको प्रविधि नलिने भएको छ।

हुआवेईका अनुसार अस्ट्रेलियाली सरकारले आफू र जेडटीईलाई प्रतिबन्ध लगाएको छ।

अस्ट्रेलियाली सरकारले ती कम्पनीहरूले चिनियाँ सरकारका लागि गुप्तचरी गर्न सूचना सङ्कलन गरेको आशङ्का गरेको छ।

सो निर्णयप्रति हुआवेईले दु:ख व्यक्त गरेको छ। "उपभोक्ताका लागि यो धेरै निराशाजनक परिणाम हो," उसले आफ्नो आधिकारिक ट्विटरमा लेखेको छ।

विश्लेषकहरूले उक्त कदमको अन्तर्राष्ट्रिय प्रभाव हुने आकलन गरेका छन्।

अन्य पश्चिमा देशहरूले पनि ती कम्पनीसँगको सम्बन्ध समीक्षा गर्न सक्ने ठानिएको छ।

अघि नै अमेरिकी सुरक्षा निकायहरूले हुआवेईका उपकरण प्रयोग नगर्न सुझाव दिइसकेका छन्।

गत जुन महिनामा यूकेमा पनि सुरक्षा समितिले हुआवेईको सञ्चारसाधन राष्ट्रिय सुरक्षाका लागि खतरा नभएको निश्चित हुन नसकिने बताएको थयो।

के हो फाइभजी?
फाइभजी मोबाइल इन्टर्नेटको आगामी सुविधा हो।

यसले विद्यमान फोरजी प्रविधिले भन्दा स्थिर कनेक्शन र व्यापक कभरेज दिने बताइन्छ।

यो सञ्चालनमा आएपछि तीव्र गतिमा डेटा डाउन्लोड र अप्लोड गर्न सकिनेछ।

विभिन्न देशहरूले फाइभजी प्रविधिमा आधारित सञ्जाल विस्तार गर्न खोज्दैछन्। विश्लेषकहरूका अनुसार सन् २०२० सम्ममा केही स्थानमा यो सुविधा सुरु हुनेछ।

परामर्शदातृसंस्था कनेक्टिभिटीएक्सका मार्क न्युम्यान प्रविधि आपूर्ति गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउँदा फाइभजीको विस्तारमा ठूलो आघात पुग्ने बताउँछन्।

हुआवेई सञ्चार उपकरणको सबैभन्दा ठूलो उत्पादक हो ।

सो चिनियाँ कम्पनी स्मार्ट्फोनको विश्वबजारमा सामसङपछि दोस्रो स्थानमा छ। तेस्रो स्थानमा भने एप्पल छ।

न्युम्यान भन्छन्, "हामीले फाइभजी अङ्गीकार गर्दै जाँदा नेट्वर्कको ठूलो भाग सफ्ट्वेयरले नियन्त्रित हुन्छ।"

"सफ्ट्वेयरको साम्राज्यमा नेट्वर्क कसले र कहाँबाट चलाउँछ भन्ने ठूलो चासो छ।"

प्रावधान र प्रतिक्रिया
चिनियाँ कानुनमा सञ्चार कम्पनीहरूले गुप्तचरी निकायसँग समन्वय गर्नुपर्ने प्रावधान छ।

त्यसैले विश्लेषकहरूले हुआवेई र जेडटीईले निर्माण गरेका उपकरण सुरक्षित नहुनसक्ने चेतावनी दिने गरेका छन्।

प्रतिबन्धको निर्णयबारे टिप्पणी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अस्ट्रेलियाले कृत्रिम अवरोध सिर्जना गर्न निहुँ बनाउन नहुने बताएका छन्।

चीनले अस्ट्रेलियालाई वैचारिक पूर्वाग्रह त्याग्न र चिनियाँ कम्पनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउन आग्रह गरेको छ।

हुआवेईले भने आफ्ना उत्पादनहरूको प्रयोग असुरक्षित नहुने दाबी गरेको छ।

एउटा विज्ञप्तिमा उसले आफूले फाइभजी प्रविधिको नेतृत्व गरिरहेको भन्दै अस्ट्रेलियालाई १५ वर्षदेखि ताररहित प्रविधि सुरक्षित रूपमा उपलब्ध गराएको जनाएको छ।

-बीबीसीबाट