काठमाण्डौ । फाक्सबैगनको नेपालका लागि आधिकारित बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले फाक्सबैगनको नयाँ मोडलको गाडी ‘पोलो १.०’ बजारमा भित्र्याएको छ ।

कम्पनीले आइतबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ गाडीको लञ्च गरेको हो ।

९९९ सीसी र ७६ एचपी इञ्जिन क्षमता रहेको सो गाडी इन्धन बचतमा कोशेढुंगा साबित हुने कम्पनीको दाबी छ । यसअघि नेपाली बजारमा फाक्सबैगन पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा भएको व्यवस्थाअनुसार १०० सीसीभन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भए पनि यो नयाँ मोडलको गाडी खरीदले उपभोक्तालाई थप आर्थिक व्ययभार नपर्ने बताइएको छ ।

गाडीको बजार मूल्य २६ लाख ९५ हजार रहेको कम्पनीले जनाएको छ । दशैंतिहार जस्ता नेपालीहरुको ठूला चाँडपर्वको अवसरमा कम्पनीले छुटको अफर समेत ल्याएको छ । यो अफरअन्तर्गत गाडी बुक गर्ने प्रथम १०० ग्राहकले साढे २५ लाखमै यो गाडी खरीद गर्न पाउनेछन् ।

छुटको साथमा गाडीमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम, एयरब्याग, गाल्भनाइज्ड बडी, पावर विण्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टरसहितको एयर कण्डिसन, पावर स्टेयरिंग आदि समावेश रहेका बताइएको छ ।

सन् २०११ मा नेपाली बजारमा आएको पोलो १.६ ह्याचब्याक गाडी अत्यधिक सफल बनेको थियो । पोलो १.० ले पनि त्यस्तै सफलता पाउने कम्पनीको विश्वास छ । एक अध्ययनले फाक्सबैगन पोलो  गाडी अन्य ब्राण्डका सोही समूहको गाडी भन्दा ३० प्रतिशत कम खर्च पर्ने देखाएको कम्पनीको दाबी छ । अध्ययन अनुसार अन्य ब्राण्डका गाडीहरु ५ सय किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने भए पनि फाक्सबैगनको पोलो गाडी १५ हजार किलोमिटरसम्म निर्धक्क चलाउन सकिन्छ ।

गाडी लञ्च कार्यक्रममा पूजा  इन्टरनेशनल प्रालिका कार्यकारी अध्यक्ष विवेक बिजुक्छेले अन्तराष्टिय रुपमा गाडीको व्यापारमा पछिल्लो २ वर्षमा फाक्सबैगन अग्रपंक्तिमा रहेको उल्लेख गर्दै सन् २०१७ मा मात्रै यो ब्राण्डका १ करोड ४ लाख १३ हजार ३ सय १५ वटा गाडी विश्वभर बिक्री भएको तथ्यांक प्रस्तुत गरे ।

फाक्सबैगनको हाल नेपालमा ९ वटा सर्भिस स्टेशन छन्, तीमध्ये ३ वटा काठमाण्डौमा छन् ।