काठमाण्डौ । सन् १९४८ मा जब महिन्द्रा एण्ड महिन्द्रा नामाकरण भयो, तब कम्पनीले निकै मल्टी पर्पस भेइकल बनाउने तथा बिक्री गर्ने संभावनाको बिषयमा खोजी सुरु गरेको थियो । परिणाम महिन्द्राले भारतमा विलिज जीपसँग सम्झौता गर्यो । यो सम्झौतापछि नै भारतमा पहिलोपटक जीप गाडी देखिएको थियो । त्यसपछि मात्र नेपालमा आएको हो । अब यही जीप अमेरिकामा महिन्द्राका लागि टाउको दुखाईको बिषय बनिदिएको छ । महिन्द्राले जीपको डिजाइन चोरी गरेपछि जीपसँग कानूनी लडाई लड्नु परिरहेको ब्लुमबर्गमा छापिएको समाचारमा जनाइएको छ । 

जीप गाडीको उत्पादक फिएटले यूएस इन्टरनेशनल टेड कमिसन(यूएसआइटिसी)मा दाबी गरेको छ कि महिन्द्रा एण्ड महिन्द्राले रोक्सोर९च्यहयच० कारको  डिजाइन उसको जिप ब्राण्डबाट चोरेको हो । 

फिएटले महिन्द्रामाथि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको उल्लंघनको आरोप लगाएको छ । महिन्द्राले भने हालसम्म यो आरोपलाई आधारहीन भन्दै आएको छ । 

यूएसआइटीसीले एक विज्ञप्तिमार्फत  भनेको छ कि फिएटले महिन्द्रामाथि लगाएको आरोपको बिषयमा फैसला गर्न उसले एउटा निश्चित मिति तय गर्नेछ । 

यो बिषय अब महिन्द्राको प्रतिष्ठा र साखका लागि समेत निकै पेचिलो बनेको छ । महिन्द्राले अमेरिकामा युटिलिटी तथा कमर्सियल भेइकललाई सन् २००४ देखि बिक्री गर्न सुरु गरेको थियो । रोक्सोर एक अफ रोड युटिलिटी भेइकल हो, जसलाई महिन्द्रा अटोमोटिभ नर्थ अमेरिकादारा असेम्बल गरिएको हो । 

के हो विवाद ?
फिएट क्रिस्लरले २०१८ को १ अगस्टमा यूएसआइटीसीमा दायर आफ्नो उजुरीमा दाबी गरेको छ कि रोक्सोरको लुक्स तथा डिजाइन कम्पनीको आइकोनिक ब्राण्ड जीपको कपी पेस्ट हो । ब्लुमबर्गका अनुसार रोक्सोरको अधिकांश डिजाइन तथा लुक्स जीपबाट कपी गरिएको उजुरीमा दाबी गरिएको छ । 

फिएट क्रिस्लर आफ्नो जीपको उत्पादनप्रति निकै निर्भर छ । कम्पनीले जुलाईमा जीप ब्राण्डको भेइकल सबैभन्दा बढी बिक्री गरेको थियो । जीप ब्राण्डको बिक्रीमा  पछिल्लो समय १६ प्रतिशतको वृद्धि रेकर्ड भएको छ ।