-भक्तराज रसाइली  
काठमाण्डौ । नेपाली समाज आज पनि कामलाई हतपत सम्मान गर्न चाहदैन । कामको आधारमा ठूलोसानो र उचनिच भन्ने प्रवृतिका कारण नै मुलुक आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको देखिन्छ । कामलाई सानोतिनो नठानी लण्ड्री व्यवसाय गरेर नाम र दाम नेपालमा नै कमाएका कुबेर(कमल) भट्टराई महिनाको एक लाख सहजै कमाउँछ्न् । उनको संघर्षपूर्ण जीवन नेपालका अन्य युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ । 

मोरङको ईटहराका स्थायीबासी कमल भट्टराईको जन्म २०३३ सालमा भएको थियो । उनी एसएलसीसम्मको शिक्षा पूरा गरेपछि व्यवसायतर्फ आकर्षित भएका थिए । पढाई पश्चात् केही गर्ने अठोटका साथ उनी इटहरी हानिएका थिए ।

सामान्य किसानको छोरा कमल आज काठमाण्डौ कालिकास्थानमा टिपटप ड्राई क्लिनर्सका मालिक बनेका छन् र केहीलाई रोजगारी दिई एक सफल उद्यमी समेत बनेका छन् ।

इटहरीमा कुरियरमा मासिक १२ सयको प्राईभेट जागिर गरे । कमाई त्यत्ति चित्तबुझ्दो नभएकाले उनी राजधानी काठमाडौ छिरे । उनी काठमाण्डौमा भने २०५७ सालमा छिरेका थिए ।

यहाँ आएपछि उनले प्रेसमा काम पाए। महिनाको तलब ५हजार ८ सय बुझ्ने गरेका उनलाई अपूग नै हुन थाल्यो । उनले त्यसपछि लण्ड्रीमा प्रवेश गरेको बताए ।

 

अनि त्यो लण्ड्री नै उनको जीवनको एक टर्निङ्ग प्वाइन्ट बन्न पुग्यो । आईरन लगाउनबाट सुरु गरेका भट्टराईले देख्दै गएपछि त्यहीँ सबै काम सिक्ने अवसर पाएको बिजशालालाई बताए । त्यहाँ उनले महिनाको ८ हजारसम्म कमाउन थाले ।

उनी केही आफैं गर्न मन थियो र त्यसपछि काठमाण्डौ २९ घट्टेकुलोमा सुरु गरे एभरेष्ट ड्राई क्लिनर्स । पछि दर्ता गर्दा नाम प्रयोग भएकाले नयाँ नाम दिएका थिए-टिपटप ड्राई क्लिनर्स ।

सुरुसुरुमा अर्कोलाई धुन दिएकामा दुईचार पैसा जम्मा गरी ९ वर्ष अघि ड्रायर, धुने निचोर्ने मेसिन, केमिकल, कपडा अनुसारका प्लाण्टहरु जडान गरे ।

आफ्नो लण्ड्री व्यवसाय गर्दागर्दै बीचमा २ वटा माइक्रोबस गाडीहरू किनेर यातायात व्यवसायी बनेको पनि उनको अनुभव छ । तर, १ वर्ष भित्र बेचबाच पारेर पुनः लण्ड्रीमै दिनरात खटिएको उनले बताए ।

जीवन के हो ? भन्ने बिजशालाको प्रश्नमा निक्कै बेर घोरिदै भने-'संघर्ष नै रहेछ, गर्दागर्दै सफल हुँदै जाने जीवनको नियम रहेछ ।'

घरमा अन्य सदस्यले के यस्तो काम गरेको भन्ने प्रेसर दिए पनि पिता पुष्पलाल भट्टराईले कामलाई सम्मान गर्नुपर्छ, जाति भनेर हुँदैन, तर काम गरेर खानुपर्छ भनी हौसला पाएर हौसिएका भट्टराईले त्यसपछि कहिले पछाडि फ़र्कनु परेन ।

उनले ड्राई  क्लिनर्समा ५ जनालाई प्रत्यक्ष रोजगार पनि दिएका छन् ।

दैनिक ५ हजारसम्म कमाइ हुने व्यवसायबाट मासिक १ लाख नेपालमा आफ्ना नेपालीको सेवा गर्दै आफ्ना परिवारका साथमा गुजारा गरिरहेको उनले बताए ।

हस्पिटल, कलेज, सरकारी कार्यालय, प्राईभेट संघसंस्था उनका नियमित ग्राहक रहेका उल्लेख गर्दै उनले भने-'एकचोटी सेवा लिएकाहरुले नै ठूला ठूला काममा सिफारिस गरिदिने गरेका र दैनिक सरदर ५० जना ग्राहक उनको पसलमा आउने गरेका छन् ।' 

सबैले यसरी माया र विश्वास गरेकाले आनन्द लाग्ने गरेको उनी बताउँछन् ।

उनले अहिलेसम्म ४ करोड जति कमाइसकेको र ५ ठाउँमा घडेरी समेत जोडिसकेको गर्वसाथ सुनाए ।

आफ्नो देश परिवारबाट अलग भएर विदेश जाने युवाहरूलाई के सन्देश दिनुहुन्छ भन्ने जिज्ञासामा,भट्टराई भन्छन्- 'यहाँ धेरै छ, काम मात्रै गर्ने हो भने हावामा उडिरहेको छ । काम सानोठूलो हुँदैन खासमा नेपालीको ठूलो पल्टिने र  कामलाई सम्मान नगर्ने परिपाटीले धेरै कुरा बिगारेको छ । महिनामा एक लाख कमाउन अप्ठ्यारो छैन ।' 

काम गर्ने सिलसिलामा गर्दै जाँदा अनगिन्ती अवसरका ढोकाहरु खुल्दै जान्छ भन्ने बुझेका भट्टराई भन्छन्-'कुनै काम थाल्दा केही वर्ष आत्तिनुहुन्न, तर तपाई मान्नुहोस् धैर्य गर्न सके नेपालमा हावामा पैसा छ, टिप्ने सीप चाहि हुनुपर्छ ।'

काम नै नसिकी धेरै पैसा चाहिने नेपालीको बानी देखेर दिक्क भएका उनले दक्ष जनशक्तिको अभाव रहेको बताए । केही वर्ष अघि लोडसेडिङ र पानीको अभाव नभएको भए आफू कहाँबाट कहाँ पुग्ने  दाबीसमेत गरे । 'म यो भन्दा सफल भइसकेको हुन्थे होला ।'-उनले थपे ।

अझै पनि हरेक चिजको सिस्टम भइदिए हुने र ट्राफिक जाममा फस्दा अर्डर, डिल लगायतका समस्या रहेको उनले जिकिर गरे ।

नेपालमा अथाहा संभावना रहेको र गर्न सक्दा एकदमै राम्रो रहेको उनी बताउँछन् ।

सरकारले पुरस्कार नदिए पनि सरकारले कामलाई सम्मान गर्नुपर्ने र आफ्नो क्षमतामा विश्वास गरे चाकडी नगरी इज्जत साथ जीवन चलाउन सकिने उनी बताउँछन् ।

आफ्ना कमाईले झापामा १० कठ्ठा जमीन किन्दा आफू जीवनमै सबैभन्दा धेरै खुशी भएको बताए । झापाकै अर्को ठाँउ २ कठ्ठा , १२.५ कठ्ठा र भक्तपुरमा समेत ड्राईक्लिनर्सकै आम्दानीले जग्गा जोडेको र निकट भविष्यमा घर पनि बनाउने योजना रहेको खुलाए ।

लोडसेडिङका बेलामा ३ घण्टामात्रै बत्ती र बत्तीकै पनि काम भएकाले काम नपाएर नभई काम गर्न समस्या भएकोले दिक्क लागेर काम नै छाडौं जस्तो भएको विगत समेत उनले कोट्याए ।

उनकामा सेवा लिन आएका धेरै व्यक्तिहरु मन्त्री भइसकेका र नेताहरूले पनि चिनेका बताए । भीम रावल, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, सिंहदरबारका उच्च पदस्थ अधिकारीहरु, मन्त्रालयका सचिव लगायत ठूला व्यक्तिको सेवा समेत गरेको उनले दाबी गरे ।

उनको यो सफल जीवनबाट पैसा कमाउन विदेश नै जानुपर्ने अन्तिम सत्य होइन भन्ने पुष्टि गर्छ । मरिहत्ते गरेर अर्काको देशमा खूनपसिना बगाउने युवाहरुले कमलजस्ताबाट सिक्न सके सरकारलाई थोरै भए पनि नागरिक स्तरबाट आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग हुने प्रष्ट छ ।