काठमाण्डौ । समस्याग्रस्त घोषित भएको करिब ७ वर्षपछि सेयर कारोबार खुल्ला भएको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । 

कम्पनीमा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा युवा उद्यमी प्रवलजंग पाण्डे लगायतको समूह प्रवेश गरेको हो । 

पाण्डे र झलक खनाल लगायतको टिमले यो कम्पनीको ७० प्रतिशत संस्थापक सेयर खरीद गरेको हो । हाल कम्पनीमा पाण्डे नेतृत्वको समूह प्रवेश गरेको छ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको भने अहिले त्यहाँ लगानी भइसकेको छैन । ‘उहाँ पछि आउने कुरा छ ।’–पाण्डेले बिजशालासँग भने । 

संकटग्रस्त घोषित भएपछि सेयर कारोबार ठप्प भएको यो कम्पनीमा नयाँ लगानीकर्ताको प्रवेशपछि नै नेपाल राष्ट्रबैंकले संस्थापक सेयर कारोबारको बाटो खोलिदिएको थियो । 

आइतबार प्रतिकित्ता २२ रुपैयाँ दरमा कम्पनीको संस्थापक सेयर बिक्री भएको देखिएको छ । हाल यो कम्पनीको चुक्तापूँजी ९३ करोड  ५० लाख रुपैयाँ रहेको छ । 

पाण्डेले बिजशालासँग कुरा गर्दै समस्याग्रस्त यो कम्पनीलाई ६ महिनाभित्र समस्यामुक्त बनाई स्वस्थ बित्तीय संस्थाको रुपमा संचालन गर्ने योजना रहेको बताए । 

यो वित्तीय संस्था धरासायी भएको भन्दै राष्ट्र बैंकले २०६९ साल माघ ९ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।