-भक्तराज रसाइली 
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नयाँ वर्षदेखि दोस्रो बजारमा सेयर खरीदका लागि प्यान(PAN) नम्बर अनिवार्य गर्ने भएको छ । 

बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई केही दिनअघि एक परिपत्र गरी २०७६ बैशाख १ गतेदेखि लागू हुने गरी सेयर खरीदमा प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था कार्यान्वयनको तयारी गर्न निर्देशन दिएको बोर्डस्थित उच्च स्रोतले बिजशालालाई जानकारी दिएको छ । 

बोर्डको आर्थिक वर्ष २०७४/७५को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा  स्थायी लेखा नम्बर(प्यान)लाई आ.ब. २०७५/७६ देखि अनिवार्य गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भनिएकोमा दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि हाललाई स्थायी लेखा नम्बर प्यान लिन प्रोत्साहन मात्र गर्ने सेबोनको नीति रहेको छ । तर, अब यसलाई प्रोत्साहन भन्दा पनि अनिवार्य व्यवस्थाको रुपमा कार्यान्वयनमा गरिने स्रोतले बतायो ।

बोर्डको निर्देशन प्राप्त भएसँगै नेप्सेले समेत प्यान अनिवार्य गर्ने विषयको आवश्यक तयारी सुरु गरिसकेको छ । यही क्रममा शुक्रबार(भोलि) ११ः३० बजे प्यान अनिवार्य गर्ने सम्बन्धी छलफलमा लगानीकर्ता संघसंगठनका नेता तथा प्रतिनिधिलाई नेप्सेले बोलाएको छ । 

यो विषयमा यसअघि नै नेप्सेले छलफल गर्न खोजे पनि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद उपत्यकाबाहिर रहेका र उनी बिहीबारदेखि कार्यालय आएपछि प्यानको छलफलले समेत तीव्रता पाउने गरी नेप्सेले आवश्यक पूर्व तयारी थालेको हो । 

विगत लामो समयदेखि सेयर बजारमा कालोधनको बोलवाला भएको भन्दै कतिपयले प्यान नम्बर अनिवार्य गरिए त्यो रोकिने र बजारमा वास्तविक लगानीकर्ताको युग सुरु हुने दाबी गर्दै आएका छन् । अरुका नाममा आफ्नो पैसा बजारमा लगानी गर्ने ठूला खेलाडीहरुलाई यो व्यवस्थाले राम्रै झट्का दिने आँकलन गरिएको छ । 

बिजशालाले यसअघि नै सेयर खरीदमा प्यान अनिवार्य गर्ने अर्थमन्त्रालयले निर्देशन दिएको बिषय उजागर गरिसकेको छ ।