काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । 

सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गराएको भन्दै सरकारी निर्णय कार्यान्वयनविरुद्ध अन्तरिम आदेशको माग गर्दै साउदले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमाथि आइतबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधी डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई काममा फर्काउन र आपसी छलफलका लागि असार १६ गते दुवै पक्षलाई बोलाउन आदेश दिएको हो । 

साउदले दायर गरेको रिटमा नेप्से प्रमुखको नियुक्ति वा पदमुक्त सम्बन्धी व्यवस्था धितोपत्र ऐन समेत आकर्षिक हुने उल्लेख गरिएको थियो । रिटमा नेप्से प्रमुखको पद प्रशासनिक पद रहेको र यो ठाउँमा आफू लोकसेवा आयोगको झै विभिन्न परीक्षा पास गर्दै नियुक्त भएकोले आफूलाई सबै राजनीतिक नियुक्ति खारेजीको नाममा पदमुक्त गर्नु अन्यायपूर्ण रहेको जिकिर गरिएको थियो । 

केही दिनअघिको क्याबिनेटले तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागेपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानी अर्थमन्त्रालयले नेप्से प्रमुख साउदलाई आइतबार पदमुक्तको पत्र थमाएको थियो । उनलाई पदमुक्त गरिएसँगै अर्थले उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि नेप्से प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो ।

चन्द्र साउदजस्तै क्याबिनेटको निर्णयबाट पदमुक्त भएका अन्य ६ जनालाई समेत सर्वोच्चले यसअघि छुट्टा छुट्टै आदेशमार्फत काममा फर्काउन आदेश दिइसकेको छ ।