काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणाली र यसको खरीदको  बिषयमा छानबिनको माग गर्दै केही लगानीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । 

सेयर लगानीकर्ताहरु कुमार सिटौला, माधव गौतम र ईश्वर गुरुंगले संयुक्त रुपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक उजुरी दर्ता गराएका हुन् । 

उनीहरुले नेपाल स्टक एक्सचेञ्जले संचालनमा ल्याएको अनलाइन टेडिंग सिस्टममा डेटा लिक, सिस्टम क्र्यास जस्ता अनगिन्ती समस्या दिनहुँ बढिरहेको भन्दै यो विषयमा छानबिन गरिदिन आग्रह गरेका छन् । 

अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाकै कारण लगानीकर्तामा चरम निराशा आएको र सफ्टवेयर निर्माता कम्पनीको नियत समेत शंकास्पद रहेको भन्दै छानबिनको माग गरिएको छ । 

लगानीकर्ताहरुले अख्तियारमा दिएको उजुरीको दर्ता नम्बर २१४२९ रहेको छ । 

यी तीन लगानीकर्ता आइतबार नेप्सेको सिस्टम नचलेपछि भद्रकालीस्थित नेप्से परिसर समेत पुगेका थिए । त्यहाँ उनीहरुले नेप्सेका अधिकारीहरुले भेटेर अनलाइन कारोबार प्रणालीलाई विश्वासयोग्य बनाउन आग्रह गरेका थिए । 

आइतबार कारोबार भइरहेकै समयमा १२ः४१ बजे नेप्सेको अनलाइन प्रणालीले फेल खाएको थियो । त्यसपछि हिजो लगानीकर्ताले कारोबार गर्नै पाएनन् । 

यो विषयमा अर्थमन्त्रालयले समेत नियमित अनुगमन गर्न र अनलाइनलाई प्रभावकारी बनाउन नियामक धितोपत्र बोर्डलाई निर्देशन दिइसकेको छ । 

यता, नेप्सेले पनि भेण्डर कम्पनी वाइको प्रालिलाई लिखित स्पष्टीकरण सोधिसकेको छ ।