काठमाण्डौ । नेपाल राष्ट्रबैंकले परिपत्रमार्फत उमेरको हद तोकेपछि जागिरबाट हात धुने बाध्यतामा परेका प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर न्यायको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । 

नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि उमेरको सीमा तोकेर परिपत्र गरेसँगै सीइओ मानन्धर स्वतः पदमुक्त भएका थिए । उनी स्वतः पदमुक्त हुनुभन्दा चार दिनअघि मात्रै उनलाई बैंकको संचालक समितिले ४ वर्षका लागि पुनः नियुक्ति गरेको थियो । 

आफ्नो पुनः नियुक्तिलाई नै धरापमा पार्ने गरी राष्टबैंकको उमेरको हद कायम गरेपछि उनी रुष्ट देखिएका हुन् । मानन्धर पदमुक्त भएसँगै बैंकले सञ्जिव मानन्धरलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिसकेको छ । 

उनले नेपाल राष्ट्रबैंकले मनलाग्दी निर्णय गर्दै त्यसलाई परिपत्र गरी जबरजस्ती कार्यान्वयन गराउन खोजिएको भन्दै त्यो आदेश कानूनसम्मत र व्यवहारिक नदेखिएकोले सो स्थगतको माग गर्दै उनले साउन २२ गते उत्प्रेषणको आदेशको मागसहित सर्वोच्चमा रिट दिएका हुन् । 

सीइओ मानन्धरले राष्ट्रबैंकले कुनै पोलिसीमा नल्याएको स्प्रेड दर गणनाको नयाँ विधि लागू गर्न खोजेर बैंकिङ उद्योग धराशायी बनाउने खोजेको र यसले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तिमा समेत बाधा पुग्ने तर्क समेत पेश गरेका स्रोत बताउँछ ।

सर्वोच्च स्रोतका अनुसार उनले दर्ता गराएको रिट बिहीबार हेर्न भ्याइएन । 

बिहीबार उनको रिटउपर इजलास नम्बर ३ बाट आदेश हुनसक्ने संभावना थियो । न्यायाधीश मिरा खड्काको एकल इजलासमा उनको रिट पठाइएको थियो । 

राष्ट्रबैंकले सोमबार एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्षको उमेर हद तोकेको थियो । यसको अर्थ बैंक तथा वित्तीय संस्थामा कार्यकारी प्रमुखको पदमा कायम रहने उमेरको हद ६९ वर्ष रहेको थियो । यो व्यवस्थाले मानन्धर स्वतः पदमुक्त भएका थिए । 

यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक हुनलाई समेत उमेरको हद तोकेको छ । जसअनुसार अब ७० वर्ष नाघेको व्यक्ति संचालक पदमा नियुक्त हुन पाउनेछैन। ७४ वर्ष उमेर पुगेपछि संचालकले पद त्याग गर्नुपर्नेछ।