-भक्तराज रसाइली
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट ५७ नम्बर धितोपत्र व्यवसायीका रुपमा लाइसेन्सप्राप्त आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.को मुख्य कार्यालय काठमाण्डौं ३२ स्थित अनामनगरमा रहेको छ । 

गुणनिधि भुसाल-प्रबन्ध निर्देशक(एमडी) 
आर्यतारामा एमडीका रुपमा रहेका गुणनिधि भुषाल स्टक ब्रोकर एसोसिएसन नेपालका कोषाध्यक्ष समेत हुन् । 

नेपाल कमर्श क्याम्पसबाट एमबीएस गरेका भुसाल कलेजमा लेक्चरर,  बैंकमा जागिरे हुँदै हाल सेयर ब्रोकर व्यवसायमा सक्रिय छन् ।

कलेज पढ्दा सरकारी सेवामा प्रवेश गर्ने रहर हुँदाहुँदै नेप्सेले दोस्रो पटक खुलाएको ब्रोकर लाइसेन्सका लागि जाँच दिएर नै लाइसेन्स पाएको उनले बताए । 

सरकारी सेवामा जागिर खाने सोंचले अध्ययनका क्रममा बनाएका नोट पढेर आफ्ना साथीहरु उपसचिवसम्म भएको उनको दाबी छ । 

समय र परिस्थितिले नै ब्रोकर पेशा अपनाएको उनले सुनाए । भुसाल हाल काठमाण्डौं कोटेश्वरका स्थायी बासिन्दा हुन् ।

रामचन्द्र भट्टराई-निर्देशक
अर्घाखाँची ढिकुरा जन्म घर भएका भट्टराईले शंकरदेव क्याम्पसबाट एमबीएस उत्तीर्ण गरेका हुन् । 

हाल आर्यतारामा निर्देशकका रुपमा कार्यरत उनी इन्स्योरेन्स, मार्केटिङ्ग र भृकुटी विकास बैंकमा २ पटक पब्लिक सञ्चालक समेत भइसकेका व्यक्ति हुन् । 

विगत १६ वर्षदेखि प्रत्यक्ष अप्रत्यक्ष पूँजी बजारसँग सम्बन्धित रहेका उनी पनि नेपालमा रहेका थोरै ब्रोकर भएको र स्तरीय तथा गुणस्तरीय सेवा उपलब्ध गराउने ध्येयको साथ यो पेशामा आएका हुन् । 

भट्टराई पनि हाल काठमाण्डौं कोटेश्वरका स्थायी बासिन्दा हुन् ।

वि.सं. २०६३ साल असार ६ गते स्थापना भएको आर्यताराले वि.सं. २०६९ साल भदौ १८ गतेदेखि कारोबार थालेको कम्पनीले जनाएको छ । ४ जना प्रमोटर रहेको कम्पनीमा चुक्तापूँजी २ करोड ७० लाख रहेको छ । 

उपत्यका बाहिर बुटवलको ट्राफिक चोकमै रहेको आर्यतारा दाङको घोराहीमा नियामकको अन्तिम स्वीकृति पर्खेर बसेको छ । दाङको लमही, कपिलवस्तु, भैरहवा, नवलपरासीको कावासोती, पाल्पाको तानसेन, गुल्मी, अर्घाखाँची, काठमाण्डौं, भक्तपुर लगायतका स्थानहरुमा ब्रोकर शाखा विस्तारका लागि नियामक धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीको भनाइ छ ।

आर्यताराले ब्रोकरहरुले डीपी सेवाका लागि लाइसेन्स लिँदा पहिलो लटमा र बोर्डबाट चाहिँ २२औं नम्बरमा २०७१ साल असोज २६ गते लिएको निर्देशक रामचन्द्र भट्टराई बताउँछन् । 

संस्थागत लगानीकर्ता ६३ र व्यक्तिगत लगानीकर्ता गरी जम्मा ११ हजार ३ सय ११ ग्राहक रहेको कम्पनीको दाबी छ । 

सक्रिय लगानीकर्ताको हकमा ६ हजार ८७ जना र संस्थागत लगानीकर्ता ३७ जना रहेका छन् । दैनिक ५० जनाभन्दा बढी लगानीकर्ताहरुको उपस्थिति रहेको र दैनिक कारोबारी औसतमा १ सय बढी भएको भट्टराई बताउँछन् ।

पछिल्लो पुष मसान्तसम्म यो ब्रोकरेज हाउसमार्फत १ सय ६९ कम्पनीका १ अर्ब २ करोड ९० लाख ४८ हजार ७ सय रुपैयाँ रकम बराबरको कारोबार भएको छ ।

उपत्यकाकै प्राइम लोकेसन सिंहदरबारको उत्तरपूर्व अनामनगरमा आर्यतारा रहेको छ । 

काठमाण्डौं वा बुटवल जहाँबाट पनि सेयर खरिदबिक्री गर्दा पैसा जहीँबाट पनि भुक्तान गर्ने सुविधा रहेको बताउने भट्टराईका अनुसार एउटा ढोकाबाट छिरिसकेपछि डिम्याट, सेयर किनबेचको सहज व्यवस्था रहेको छ । 

महिला पुरुषका लागि छुट्टाछुट्टै सफा शौचालयको व्यवस्था रहेको छ । 

दिउँसो चियापानको व्यवस्था र अपाङ्गमैत्री आवतजावत, यथोचित पार्किङ्ग व्यवस्था भएको भट्टराई बताउँछन् । 

पारिवारिक वातावरण कायम राखेको निर्देशक भट्टराईले बिजशालालाई सुनाए ।

ब्रोकरहरुको सेवा विस्तार र दायरा फराकिलो बनाउन भट्टराईले बिजशालामार्फत बजार सञ्चालक  नेप्सेले रिसर्च विभागमार्फत बजार विकासको कार्यलाई अघि बढाउन जोड दिए । स्थान परिस्थितिका आधारमा बोर्डले ब्रोकर शाखा कार्यालयको पूर्वाधार संरचनाको मापदण्डलाई लचक बनाउनुपर्नेमा उनको जोड थियो ।

‘छरिएर रहेका पैसालाई एकीकृत गर्दै पूँजी निर्माण र पूर्वाधार निर्माणको निर्विकल्प माध्यम भनी पूँजी बजारलाई बुझिन्छ । नीतिगत स्थिरता, विस्तृत अध्ययन गरेर मात्र निर्देशन बनिनुपर्छ । नीति नियम अलिक दीर्घकालीन समेत हुनुपर्दछ ।’ भट्टराईले भने ।

स्थापनाकालदेखि हालसम्म नियामकहरुको कार्वाहीमा नपरेको प्रबन्ध निर्देशक गुणनिधि भुसाल बताउँछन् । नेप्सेले समेत हालसम्म कुनै कारणले दैनिक कारोबारबाट आउट नगरेको भुसालको दाबी छ । उनकोमा आएका लगानीकर्ताहरुका समस्याहरुको तत्काल समाधान हुने भएकाले समेत  साना लगानीकर्ताहरुको अपार माया पाइरहेको भुसालको बुझाइ छ ।

अन्धाधुन्ध नीतिगत परिवर्तन, वित्तीय संस्थाको दोस्रो बजारमा अधिक हिस्सा लगायतका यावत चूनौति रहेको निर्देशक रामचन्द्र भट्टराईले बिजशालासँग भने–‘देश विकास र पूँजी बजार एकै सिक्काका दुई पाटा हो ।’

सकारात्मक सोंचसहित राम्रा नीतिमार्फत अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत पूँजी बजारमा प्रवेश गराउनुपर्ने र प्रफिट उसको देशमा सहजै लैजान दिने वातावरण तय हुनुपर्ने भट्टराईको धारणा छ । 

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ५७

-कृष्णप्रसाद तिवारी(५८ वर्ष) पर्यटन व्यवसायी-बालाजु
विगत अढाईवर्षदेखि आर्यताराबाटै सेयर खरिदबिक्री गरिरहेको छु । यहाँबाट प्राप्त सेवादेखि एकदमै खुशी समेत छु । कर्मचारी र सञ्चालकहरुको मैत्रीपूर्ण व्यवहार राम्रो भएकाले  म १० नम्बरमा १० नम्बर नै दिन चाहन्छु ।

प्रमिला राजभण्डारी(४०वर्ष)इन्स्योरेन्स एजेन्ट - पेप्सीकोला
स्थापनाकालदेखि नै म यहाँको सेवा लिइरहेको छु र अन्त पनि गएकी छैन । मैले कारोबार मात्र हैन डिम्याट खातासमेत यहीँबाट खोलेको छु । यहाँको सेवासुविधा राम्रो भएकाले १० नम्बरमा म पनि १० नम्बर नै दिन चाहन्छु ।

मित्रबहादुर थापा(६० वर्ष)भूपू सिङ्गापुर प्रहरी-बानेश्वर
वि.सं. २०६४ सालदेखि सेयर बजारमा लगानी गर्दै आइरहेको मैले यहाँबाट चाहिँ ३ वर्षदेखि कारोबार गरिरहेको छु । चाहेजस्तै सेवा छ । किनबेचमा समस्या छैन । सबै कर्मचारीहरु मित्रवत हुनुहुन्छ । मैले १० नम्बरमा ८ नम्बर दिएँ ।

सुवास खड्का(२८ वर्ष)सक्रिय युवा लगानीकर्ता-गौशाला
चार वर्षदेखि सेयर बजारमा लागेको म विगत २ वर्षदेखि  आर्यताराबाटै सेयर किनबेच गर्दैछु । यहाँको सेवा साह्रै राम्रो छ । यहीँबाट मार्जिन कारोबार गर्न पाए हुन्थ्यो भन्न चाहन्छु । यो कम्पनीलाई म १० नम्बरमा ९ नम्बर दिन्छु ।